सचिन भट्टराई बने विश्वकै उत्कृष्ट ५० गल्फ प्रशिक्षक
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपालका प्रोफेसनल गल्फर एवं गल्फ प्रशिक्षक सचिन प्रसाद भट्टराई विश्वको उत्कृष्ट ५० गल्फ प्रशिक्षकको सुचीमा परेका छन । वर्ल्ड गल्फ टिचर्स फेडेरेशनले २०२२/२३ को वार्षिक पुस्तिकामा विश्वका उत्कृष्ट गल्फ प्रशिक्षकहरुको नाम सार्वजनिक गरेको हो ।
उक्त सुचीमा सचिन उत्कृष्ट ५० भित्र पर्न सफल भएका हुन् । फेडेरेशनले हरेक गल्फ प्रशिक्षकले आफ्नो देशमा सञ्चालन गरेको प्रशिक्षण कोर्सको आधारमा उत्कृष्ट प्रशिक्षकको छनोट गर्ने गर्दछ । सचिन यसअघि २०२०/२१ को सिजनमा पनि उत्कृष्ट एक सयमा परेका थियो ।
काठमाडौंमा रोयल नेपाल गल्फ क्लबले सञ्चान गरेको गल्फ ड्राईभिङ रेन्जमा युवा र गल्फरलाई प्रशिक्षण दिँदै आउनुभएका सचिनले सन् २०१४ मा वर्ल्ड गल्फ टिचर्स फेडेरेशनबाट तालिम लिएका थिए । उनले रोयल नेपाल गल्फ क्लबसँगै शनिबार बालबालिका र युवा गल्फरलाई लक्षित गरी छुट्टै प्रशिक्षण क्याम्प समेत सञ्चालन गर्दै आएका छन् ।
सचिनले नेपालका चर्चित गल्फ खेलाडी सुवास तामाङ, महिला गल्फर प्रतिमा शेर्पालगायतलाई प्रशिक्षण दिएका थिए । सचिनले विश्वकै उत्कृष्ट ५० भित्र परेको कुरा आफुले कल्पना समेत गर्न नसकेको बताए ।
‘‘काम गर्दै जाँदा ठूला उपलब्धि पनि हात लाग्ने रहेछ । यसले मलाई गल्फमा अझै केही गर्ने उत्साह थपेको छ,’’ ४७ वर्षीय सचिनले भने । उहाँले नेपालमा पाँचसय भन्दा बढी प्रशिक्षार्थीलाई गल्फ खेलको प्रशिक्षण दिएका छन् ।








