फिक्सिङको आशंकामा जारी नेपाल टी-२० माथि सीआईबीले सुरु गर्यो छानबिन
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता विवादबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले अनुसन्धान अगाडि बढाएको छ । सीआईबीले नेपाल टी-२० मा ‘म्याच फिक्सिङ’ र ‘लाइभ बेटिङ’ भएको भन्ने उजुरी आएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।
खेलाडीहरुले नै फिक्सिङका लागि ‘अप्रोच’ भएको बताएपछि गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको सीआईबीका एक अधिकृतले बताए । ‘अहिलेसम्म त्यस्तो कुनै प्रमाण फेला परेको छैन’, ती अधिकृतले भने ।
सीआईबीको टोलीले बेटिङ गरिरहेको आशंकामा जारी प्रतियोगिताबाटै केही दर्शकलाई नियन्त्रणमा लिएर स्थानीय प्रहरीको जिम्मा लगाएको थियो । तर, फिक्सिङको सम्बन्धमा कुनै प्रमाण फेला पर्न नसकेको सीआईबी स्रोत बताउँछ ।
त्यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि मंगलबार प्रहरीलाई खेलमा देखिएको विवादबारे अनुसन्धान गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयले पारिश्रमिक नदिई आयोजक भागेकोबारे युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विस्तृत जानकारी पनि मागेको छ ।
विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबारदेखि खेल नखेल्ने धम्की दिएका थिए । यही विवादका कारण मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल केहीबेर रोकिएको समेत थियो ।
मंगलबार काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले टिमका केही खेलाडीलाई ‘फिक्सिङ’ लागि प्रस्ताव आएको बताएका छन् । उनले यसबारे आधिकारिक निकायमा रिपोर्टिङ गरिसकेको पनि बताए ।
त्यस्तै प्रतियोगितामा कमेन्टेटरका रूपमा काम गर्दै आएका सचिन तिमल्सेनाले पनि नेपाल टी-२० मा शंकास्पद गतिविधि देखिएको बताएका छन् । उनले मंगलबारदेखि नै कमेन्टेटरको भूमिका छाडेका छन् । उनले भनेका छन्, ‘नेपाल टी-२० लाई कमेन्टेटरका रूपमा नजिक बाट नियाल्दा धेरै शंकास्पद गतिविधि भेटियो । अब त आयोजक पनि गायब भएछन्। आजबाट यो लिगमा ब्रोड्कास्टर या कमेन्टेटरको रूपमा मेरो कुनै संलग्नता रहने छैन ।’
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो । मंगलबारसम्म ३४ मध्ये २२ खेल सम्पन्न भइसकेका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टसका संस्थापक जतिन आहलुवालिया सम्पर्कमा नआएको जनाए ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नै आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङका लागि अप्रोच भएको बताएका थिए ।












