विश्वासको मत लगत्तै सभामुखको निर्वाचन
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । संघीय संसद सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी गरेको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने तय भएको छ ।
राजनीतिक दलहरुको आग्रह र सुझावका आधारमा संघीय संसद सचिवालयले पुस २६ गते नै सभामुखको निर्वाचनका लागि सूचना निकाल्ने कार्यसूची सर्वदलीय बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले पुस २२ गतेका लागि सर्वदलीय बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समिति गठन नहुँदासम्म सर्वदलीय बैठकले संसदको कार्यसूची तय गर्ने अभ्यास छ ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार २२ गतेको सर्वदलीय बैठकको मुख्य एजेण्डा प्रतिनिधिसभा नियमावली नयाँ बनाउने कि पुरानै स्वीकार गरेर जाने, प्रधानमन्त्रीले विश्वासको मत लिने र सभामुखको निर्वाचन हो ।
संघीय संसदका महासचिव भरतराज गौतमका अनुसार दलहरुका बीचमा सहमति भए प्रधानमन्त्रीले विश्वासको मत लिएकै दिन सभामुखको निर्वाचनको सूचना जारी हुनेछ । उनी भन्छन्, ‘दलहरुका बीचमा सहमति भएको खण्डमा २६ गते नै सभामुखको निर्वाचनको सूचना जारी गर्न कुनै अप्ठ्यारो छैन् ।’
२६ गते नै सभामुखको निर्वाचनको सूचना जारी भएको अवस्थामा यही महिनाभित्र संसदले सभामुख पाउँछ । २७ गते पृथ्वी जयन्ती छ । यस दिन सार्वजनिक बिदा दिनुपर्ने सत्ता साझेदार दल राप्रपाको माग छ । २७ गते सार्वजनिक बिदा दिइएमा २८ गते सभामुखका लागि उम्मेदवारी दर्ता र २९ गते निर्वाचन हुनेछ ।
संसद सचिवालयका अधिकारीहरुका अनुसार सभामुखको निर्वाचनका लागि कम्तिमा तीन दिन आवश्यक पर्छ । पहिलो दिन सभामुखका लागि सूचना जारी गर्ने, दोस्रो दिन सभामुखका लागि उम्मेदवारी दर्ता गर्ने र तेस्रो दिन निर्वाचन गर्ने ।
२५ पुसबाट प्रतिनिधि सभाको बैठक सुरु हुने भएकाले सभामुखको निर्वाचनका लागि माघ १० गतेसम्मको समय छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।












