२७ बर्ष पछि पनि तन्नेरी गीत : निमा रुम्बाको ‘मिस क्याटवाक’
|
Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर,पेन्सिलभेनिया / अहिले हरेक क्षेत्रमा पुस्तान्तरणको चर्चा चल्ने गरेको छ। जमान अनुसार सबै कुरा फेरिए भन्ने पनि गरिन्छ ।
बा-आमाको बेलाको कुरा छोराछोरीलाई गरेर कहाँ हुन्छ भन्ने पनि गरिन्छ। पुस्तान्तरण सँगै परिवर्तनका कुरा पनि उठ्छन्।
तर गायक निमा रुम्बाको एउटा गीत ‘मिस क्याटवाक’ मा भने दुबै पुस्ताको रोजाइ झण्डै उस्तै उस्तै देखिएको छ।
युनाइटेड होम केयर सर्भिस एलएलसीको प्रायोजनमा नयाँ वर्षको उपलक्षमा अमेरिकाको पेन्सिलभेनिया राज्यको ल्यानक्यास्टरमा भएको एक साँगितिक कार्यक्रममा सहभागि दर्शकहरुमा जुँगाको रेखी बस्दै गरेका तन्नेरीहरुको बाहुल्यता थियो।
नयाँ वर्षको पहिलो दिन आइतवार साँझ भएको कार्यक्रममा महिला दर्शकमा पनि युवा पुस्ता नै धेरै थिए।
चक्लेटी ड्रेसअपमा स्टेज प्रवेस गरेका थिए गायक निम रुम्बा। बुट्टे सर्ट, रातो पाइन्ट र निलो कोटमा उनी खुलेका थिए। हसिलो स्वाभावका निमा ह्याटमा झनै चिटिक्क थिए।
उनले ‘मेरी प्रियसी’ बाट आफ्नो प्रस्तुति शुरु गरे । स्टेजमा माइक स्ट्याण्ड सँग खेल्दै गाउने निमाको बडील्याङ्वेजमा दर्शक उत्साहित नै देखिन्थे।
नेपाली पपमा रोमान्टिक गायनमा पहिचान बनाएका निमाको दोस्रो प्रस्तुति ‘आउ आउ न म सँग बसन्’ थियो।
सायद दर्शक अब धैर्य गर्ने पक्षमा थिएनन्। दर्शक दिर्घाबाट चर्को आवाज आयो, ‘मिस क्याटवाक’ । चलनको भाषामा फर्माइ भयो यो गीतको । रमाइलो पक्ष जुन समय यो गीत नेपाली पप संगितमा चर्चाको शिखरमा पुगेको थियो सायद त्यो बेला अहिले फरमाइस गर्नहरु जन्मेकै थिएनन्।
सन् १९९६ मा रिलिज भएको (भिडियो सहित) ‘मिस क्याटवाक’ ले नेपाली पप संगितमा विभिन्न कीर्तिमान बनाएको थियो।
सन् १९९१ मा द पिस व्याण्ड मार्फत ‘आइ देउ प्रिय’ बोलको गीत लिएर संगितको महासागरमा होमिएका निमाले अर्को वर्ष ‘जादै छु टाडा’ बजारमा ल्याएका थिए।
त्यो समय गीतमा भिडियो विरलै बन्दथे। निमाको जीवनमा मात्र होइन ईमेज च्यानल र निर्देशक भुषण दाहालकै करिअरमा पहिलो भिडियो ‘मिस क्याटवाक’ मा बनेको थियो।
त्यस भिडियो पछि निमाको उचाई एक्कासी चुलिएको थियो। विक्रम सम्वत २०५२ साल ताका शहरिया युवा पुस्ताको जिब्रोमा झुण्डिन्थो ‘मिस क्याटवाक’ ।
यो बीचमा बागमतिमा धेरै पानी बगे । तर २७ वर्ष पछि पनि उनलाई भेट्नासाथ दर्शकले सम्झिए अनि डिमाण्ड गरे ‘मिस क्याटवाक’ त्यो पनि अमेरिकामा ।
‘मैले त्यो पहिलो पटक गाउदाँ सायद उहाँहरु जन्मिनु भएको थिएनन होला तर आज त्यो गीतको डिमाण्ड गर्नु भयो खुसी लाग्यो’ समाज टाइम्स सँग निमाले भने। ‘मैले मेरो पहिलो गीत आफु युवा छदै सुनेको भन्ने मान्छेहरु पनि त्यही हलमा भेटे, सायद घरमा आमा बाबुले मेरो गीत सुन्ने भएकाले छोराछोरीमा पनि त्यसको प्रभाव पर्यो होला।’ उनले थपे।
यहाँ हेर्नुहोस निमाको पहिलो म्युजिक भिडियो मिस क्याटवाक’
दोस्रो पुस्ताले पनि आफ्नो त्यो बेलाको गीत मन पराएकोमा निमा दङ्ग छन्। ‘मेरो गीत सदाबहार होला भन्ने आस थियो तर सोच थिएन,’ निमाले भने तर केही नयाँ गर्दै छु भन्ने थियो साथ साथै चिन्ता पनि थियो।’
गायक निमाका अनुसार त्यो समयको फेशनका बारेमा व्यङ्ग गर्न अरु कसैले लेखेको स्क्रिपलाई सम्पादन गर्दै यो गीत तयार पारेका थिए।
‘मेरो एल्बम ‘सुनसुन’ का लागि विश्व शाहीको रेकडिङ्ग स्टुडियोमा काम भइरहेको थियो, उहाँ माफर्त अमर खड्की सँग भेट भयो’ निमाले भने उहाँले त्यो बेलाको फेशन पपुलर हुदै थियो, त्यसलाई व्यङ्ग गर्ने शैलीमा लेख्नु भएको रहेछ, मैले किन व्यङ्ग गर्ने सपोर्ट गरौ भनेर केही इडिट गरे।’
गायन शैली र भिडियो पनि पृथक थियो, ‘मिस क्याटवाक’ त्यो समयको ट्रेन भन्दा भिन्दै। अहिले पनि कयौंले ‘समय भन्दा धेरै अगाडि तपाईले गीत ल्याउनु भयो भन्ने गरेको सम्झन्छन्।
हुन पनि तीन दशक छुन लाग्यो तै पनि मान्छेको मुखमा झुण्डिन्छन्, ‘मिस क्याटवाक’ । यो गीत अझै पनि तन्नेरीका लागि प्रिय छ।
निमा रुम्बा, नलिना र जगदीशको ल्यानक्यास्टरमा दमदार प्रस्तुति












