जजिरा र हिमालय एयरलाइन्सको भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकियो
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको अन्तर्राष्ट्रिय उडान रोकिएको छ। मौसमको कारण देखाउँदै जजिरा एयरवेज र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान रोकेका हुन्।
विमानस्थल कार्यालयका अनुसार गत डिसेम्बर १६ देखि हिमालय र २१ डिसेम्बरदेखि जजिराले उडान स्थगित गरेका हुन्।
जजिराले मौसममा सुधार आएपछि नियमित उडान गर्ने बताएको उनले जानकारी दिए। तर यसका लागि अझै समय लाग्ने देखिन्छ।
आन्तरिकतर्फका उडान पनि मौसमका कारण प्रभावित भएको उनले बताए। आन्तरिकतर्फ दैनिक १८ देखि २० वटासम्म उडान हुनेमा हाल ५ वटा उडान हुन पनि मुश्किल रहेको उनको भनाइ छ। उडान प्रभावित हुँदा भैरहवाबाट काठमाडौंका लागि यातायातमार्फत यात्रा गरिरहेको समेत उनले जानकारी दिए।
कम ‘भिजिबिलिटी’ का कारण अन्य मुलुकबाट गौतमबुद्ध आउने चार्टर्ड उडान समेत अवतरण हुन सकेका छैनन्। विशेषगरी अंग्रेजी नयाँ वर्षका लागि लुम्बिनी आउने हवाई पर्यटकहरूलाई समस्या भएको छ।
‘आज बिहान भारतबाट एउटा चार्टर्ड उडान आउने तालिका थियो। मौसमकै कारण उडान डाइभर्ट भएर उतै फर्कियो,’ दाहालले भने, ‘लुम्बिनी आउने भारतीय पर्यटकहरू यति बेला समस्यामा छन्।’
उनका अनुसार यो विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि १५ सयदेखि दुई हजार मिटर भिजिबिलिटी आवश्यक पर्छ। भैरहवा तथा आसपासमा अहिले घाम नलागेको समयमा भिजिबिलिटी दुई सय मिटर हाराहारीमा पुग्छ। घाम लागेको बेला आन्तरिक उडान हुने र नभएको बेला उडान प्रभावित भइरहेको उनी बताउँछन्।
विमानस्थलमा उपकरण अवतरण प्रणाली (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम-आइएलएस) जडान छ। तर कार्यान्वयनमा आउन सकेको छैन।















