सन्दिप लामिछानेलाई जेल भित्रै दिन थालियो मनोपरामर्श, डिफ्रेसनको संकेत देखियो
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नाबालिगलाई करणी गरेको मुद्दामा पुर्पुक्षका लागि थुनामा रहेका पुर्व क्रिकेट कप्तान सन्दिप लामिछानेलाई मनोपरामर्श दिन सुरु गरिएको छ ।
केन्द्रीय कारागार सुन्धारामा रहेका लामिछानेमा डिप्रेसनको संकेत देखिएपछि मनोपरामर्शदाता लगेर जेलभित्रै मनोपरामर्श दिइएको उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए।
‘सन्दीपलाई करिव २० दिनपहिले भेट्दा पनि अर्कै लागेको थियो। तर अहिले समस्या जटिल बन्दै गएको देखिएपछि वरिष्ठ मनोपरामर्शविद सुष्मा रेग्मीलाई लगेर गएको थिएँ। उहाँले परामर्श दिनु भएको छ। अब, दुई तीन दिनबीचमा नियमित परामर्श दिनुपर्ने भन्नु भएको छ’, घिमिरेले भने।
घिमिरेका अनुसार बोलीचाली र हाउभाउ पनि परिवर्तन भएको छ। उनमा नकरात्मक सोचहरु बढेको पाइएको छ।
जेलभित्र मनोपरामर्शको कुनै व्यवस्था छैन। अर्कातिर काउन्सिलिङका लागि छुट्टै कोठासमेत नरहेको भन्दै सन्दीपका आफन्तले गुनासो गरेका छन्।
उनलाई सोमबार परामर्श दिँदा पनि छुट्टै कोठाको व्यवस्था थिएन। सामूहिक रुपमा परामर्श दिनु प्रभावकारी नहुने परामर्शविदले बताएका छन्।
तर जेलर ईश्वरी प्रसाद पाण्डेले भने परामर्शविदलाई अन्य कैदी पनि डिप्रेसमा रहेकाले उनीहरुलाई पनि परामर्श दिन आग्रह गरेका थिए।
जेलर पाण्डेले पनि सन्दीपलाई परामर्श दिन एउटा टोली जेलमा आएको बताए।
जेलर पाण्डेले भने अहिलेसम्म परिवारले आफूसँग सन्दीपको स्वास्थ्यको विषयमा कुनै जानकारी नगराएको बताए।
लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन परेको छ। तर उच्च अदालतमा सुनुवाई हुन सकेको छैन।
जिल्ला अदालतले भने पीडितको उमेर विवादमा थप कागजात मगाउन आदेश दिएको छ। सन्दीप पक्षले किशोरी नाबालिग नरहेको दाबीसहित कागजात बुझाएका छन्।
दुई वटा जन्मदर्ता फेला परेपछि यसलाई पनि प्रमाणित गर्ने काम अदालतबाट भइरहेको छ। यस्तै किशोरीको जन्म मितिबारे पुष्टि गर्न अदालले अस्पतालबाट कागजात मगाएको छ।
यी सबै प्रमाण बुझ्ने काम सकिएपछि मुद्दाको फैसला हुनेछ।












