तमु ल्होसारको अवसरमा अमेरिकामा रोधीं
|
Getting your Trinity Audio player ready...
|
‘श्रृजना विरही थापा र भीमेसन शाह बीचको दोहरी घम्साघम्सी, उठे १८ वर्ष उमेर,तल्लोबाटो देखि अक्सफोर्ड विश्वविद्यालय सम्मका कुरा’
ह्यारिषवर्ग, पेन्सिलभेनिया / युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाको आयोजनामा पेन्सिलभेनियामा तीन दिने कार्यक्रम गरि तमु ल्होसार मनाइदै छ।
एकै ठाँउमा जम्मा भएर ल्होसार मनाउनकै लागि अमेरिकाको विभिन्न राज्यमा रहेका गुरुङहरु ह्यारिषवर्गमा जम्मा भएका छन्।
ल्होसारको दोस्रो दिन शुक्रवार दिनभरी विभिन्न खेलकुदका प्रतियोगिता भए। डिसेम्बर अन्तको अप्रत्यासित न्यानो मौषमले खुल्ला चौरमा भएको कार्यक्रमलाई रोचक बनाएको थियो।
पहारिलो घाममा ठेलो, टकअफ वार, म्यूजिकल चियर लगायतका खेलमा सहभागि रमाएका थिए।
साँझको कार्यक्रम झनै उत्कृष्ठ भयो । मुख्य आकर्षण ‘रोधीं’ रहेको थियो ।

गुरुङ संस्कृतिको प्रमुख मौलिकता रोधींलाई पराम्परागत बनाउन प्रयास गरिएको थियो। स्टेजको साज सज्जा त्यही अनुसार गरिएको थियो।
रोधींमा रोस्यो बा र आमाको पनि व्यवस्था गरिएको थियो। कार्यक्रम संचालक बहुप्रतिभाधनी कलाकार तथा तेक्वान्दो प्रशिक्षक बिकास घले गुरुङले युवायुवती बीचमा साँझको समयमा सुख दुखका कुरा गरेर गीत गाएर रमाइलो गरिने रोधींमा कुनै गलत काम नहोस भन्दै रोस्यो बा र आमाको परम्परा रहेको र त्यसलाई यहाँ पनि निरन्तरता दिएको बताए।

युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका रोधीं अध्यक्ष गायक अगोम गुरुङलाई रोस्यो बा र गायीका सुचिता गुरुङलाई रोस्यो आमा घोषणा गरिएको थियो।
नेपाली लोक संगितकी हस्ति श्रृजना विरही थापा र सुमित्रा लामाले ‘यो दाजुको मिरमिरे आँखा’ बोलको गितबाट रोधींको शुरुवात गरेका थिए।
यस्तै राजन ठकुरी र भीमसेन शाहले ‘यो बहिनीको सुरिलो भाकाले’ भाका गाएका थिए।
गायक समेत रहेका अमृत रामदानको टोलीले प्रत्यक्ष बाध्यबाधन संहालेको थियो।

दोहोरीमा उमेर र तल्लोबाटोका कुरा
श्रृजना र भीमसेन बीचको दोहोरी निकै घम्साघम्सी भएको थियो । भीमसेनले ‘१८ वर्ष उमेर’ को प्रसंग उठाउदा दर्शक उत्साहित बनेका थिए।
नेपालमा नायक पल शाह र क्रिकेटर सन्दीप लामिछाने माथिको नाबालिका प्रकरण पछि गीत संगितमा पनि १८ वर्ष उमेरको कुरा पटक पटक उठ्ने गरेको छ।
यस्तै अमेरिकामा प्रचलित ‘तल्लोबाटो’ का प्रसंङ्ग पनि दोहोरीमा उठेको थियो। दक्षिणी मुलकुबाट स्थलमार्गबाट अवैध रुपमा अमेरिका प्रवेस गर्नेहरुलाई नेपाली समाजमा तल्लोबाटो भनेर बुझ्ने गरिन्छ।

गायक भीमसेनले श्रृजनालाई तल्लोबाटो बाट अमेरिका आएको भनेका थिए। श्रृजनाले आफु अक्सफोर्ड विश्वविद्यालय पढ्न आएको जवाफ फर्काएकी थिइन। यद्यपि अक्सफोर्ड विश्वविद्यालय बेलायतमा रहेको छ।
ल्होसारको अन्तिम दिन शनिवार पनि विभिन्न कार्यक्रम हुँदै छ। अन्तिम दिनको आकर्षणमा अरुण उपत्यकाका संस्थापक लोक गायक संकलक नविन खड्का रहेका छन्।
यस्तै आधुनिक गायीका रिमा गुरुङ ‘होडा’, चलचित्र गोर्खा पल्टनकी चर्चित नायीका रंजिता गुरुङ, स्थानीय गायक जीवन गुरुङ, लोकेस गुरुङ लगायतका विभन्न राज्यबाट आएका गुरुङ समाजको झाँकीहरुको प्रस्तुति रहने छ।
कार्यक्रम स्थलमा नै दिवा र रात्री भोजको व्यवस्था गरिएको पनि आयोजकको भनाई छ।















