विदेशबाट ल्याइएको मोबाइल नचल्ने सिस्टम-एमडीएमए तत्कालका लागि “खारेज”
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले तत्कालका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को पूर्ण कार्यान्वयन स्थगित गरेको छ ।
प्रधानमन्त्री प्रचण्डको समेत आदेश आएपछि प्राधिकरण तत्कालको लागि पछि हटेको हो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्नैपर्ने व्यवस्थालाई अनिवार्य नगरिएको बताए ।
‘भविष्यमा आवश्यक तयारी र छलफलपछि कार्यान्वयन गर्छौं,’ उनले भने, ‘व्यवसायीले विदेशबाट ल्याएका मोबाइल दर्ता गर्न भने प्रणाली कायम रहनेछ ।’
चौतर्फी विरोध भएपछि सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था पनि तत्कालका लागि स्थगित गरेको छ ।
भन्सार विभागले विमानस्थल भन्सार कार्यालयलाई आजबाट जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिइसकेको छ ।















