र्यालीमा भागदौड हुँदा भारतमा ७ जनाको मृत्यु
आन्ध्र प्रदेश । भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडुको र्यालीमा भागदौड हुँदा ७ जनाको मृत्यु भएको छ ।
तेलुगु देशम पार्टी (टिडिपी) को कार्यक्रममा बुधबार बेलुका भागदौड मच्चिएको हो । नायडुले रोड शो गर्ने बेला उनको गाडी वरिपरी हजारौंको भिड जम्मा भएको थियो ।
त्यही बेला भागदौड मच्चिंदा सात जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । केही मानिसहरु घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ ।
तेलुगु देशम पार्टीले घटनामा मृत्यु भएकाका परिवारलाई १० लाख रुपैयाँको दरले राहत प्रदान गर्ने घोषणा गरेको छ ।














