सरकार विस्तार विश्वासको मत लिएपछि मात्रै
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मात्र मन्त्रीपरिषद् विस्तार हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन पुस २५ मा आह्वान गरेकी छन् । संसद् सुरु भएपछिको दोस्रो बैठक वा त्यसपछिका कुनै बैठकमा विश्वासको मत लिने सरकारको तयारी छ ।
संघीय संसद् सचिवालयले सरकारको यो संकेत बुझेर पुसभित्र सरकारले विश्वासको मत लिने, सभामुख र उपसभामुख चयनसँगै राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तयारी गरेको छ । नयाँ संसद् आएपछि राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ ।
माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेतले संसद् अधिवेशन बसेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । ‘संसद्बाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुनेछ,’ उनले भने, ‘त्यसअघि गृहकार्य हुनेछ ।’











