पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं । सत्ता साझेदार दलहरुबीच बिहीवार बिहान बसेको बैठकले अबको ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने सहमति गरेका छन् । आज बिहान बसेको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न समिति समेत गठन गरेको छ । उक्त समितिको संयोजकको रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको छ ।
बैठकको निर्णयबारे जानकारी दिदैं प्रवक्ता एवं गृह मन्त्री रवी लामिछानेले भने “प्रत्येक दलबाट समितिमा १-१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद् विस्तारका विषयमा पनि सामान्य छलफल भएको छ ।“
साथै लामिछानेले मन्त्रिपरिषद्मा क्षमताका आधारमा सांसदहरूलाई जिम्मेवारी दिने पनि सहमति भएको छ । तर यसका लागि समय लाग्नसक्ने मन्त्री लामिछानेले बताए ।
ओली नेतृत्वको कार्यदलको बैठक भने भोलिदेखि नै हुने लामिछानेले जानकारी दिए । प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले १० र माओवादीले ७ मन्त्रालयमा दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाको ३–३ तथा जनमत पार्टीको २ मन्त्रालयमा दाबी छ ।
सरकारमा सहभागी हुँदा राप्रपाले ३ र नागरिक उन्मुक्तिले २ मन्त्रालयमा दाबी गर्ने जनाउ दिएका छन् । तीन स्वतन्त्र सांसदले पनि एक/एक मन्त्रालय लिने बताएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।















