‘सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउँछु’: अर्थमन्त्री पौडेल
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्कटको सँघारमा रहेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई सुधार गर्दै समृद्धितर्फ उन्मुख गराउने बताएका हुन् ।
यसका लागि उनले सबै क्षेत्रले सरकारसँग सहकार्य गर्नुपर्ने जनाएका छन् । अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजानका लागि आफूले प्रयास गर्ने बताउँदै उनले सबै क्षेत्रलाई एक÷एक वटा इँटा थप्नसमेत आग्रह गरेका छन् ।
अर्थतन्त्र काबुबाहिर नगइसकेको बताउँदै उनले भने, “अर्थतन्त्रको स्थिति काबू बाहिर पुग्यो भन्ने होइन । समस्याहरू धेरै छन् । त्यसमा केही मिसह्याण्डलिङ पक्कै भएको हो । यद्यपि, सावधानिक रूपमा ठिक ढङ्गले अघि बढ्यौँ भने हामीले चाँडै सुधार गर्न सक्छौँ ।”
पत्रकारहरूसँगको भेटमा मन्त्री पौडेलले राम्रो काम गरेको भए राम्रो र राम्रो काम नगरे आलोचनात्मक टिप्पणी गर्न अनुरोध गरेका छन् ।
“म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको छु र अहिले भित्र बसेर पनि विभिन्न सुझाव लिइरहेको छु,”उनले भने “बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रैछ त्यसको महसुस मैले पनि गरिरहेको छु ।”
अहिले सबैको साझा सरोकार अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने भएकोले अर्थतन्त्रमा रहेका समस्यालाई ठिक ढङ्गले चिन्ने र यसको उपयुक्त समाधान गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ । सबल अर्थतन्त्र निर्माणका सबै पक्षको रचनात्मक भूमिका आवश्यक भएको उनले बताए ।
अर्थमन्त्री पौडेलले अघिल्लो कार्यकालमा आर्थिक पत्रकारहरूको सहकार्य र समन्वयले अर्थतन्त्र सुधारसँगै विकासका सहयोग पुगेको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता गरे ।
भेटघाट कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले नवनियुक्त अर्थमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिदैं अर्थतन्त्र सुधार गर्न तत्काल गर्नुपर्ने सुझाव पेश गरे ।
यस्तै, अर्थ मन्त्रालयमा पत्रकारहरूले सूचना प्राप्त गर्न कठिन भएकाले समयमै सूचना उपलब्ध गराइदिन आग्रह गरे ।
अध्यक्ष ढकालले भने “अर्थमन्त्रालयले मासिक रूपमा सार्वजनिक गर्ने बुलेटिन सार्वजनिक गर्न छोडेको छ, त्यसलाई समयमै प्रकाशन गर्नु आवश्यक छ । मन्त्रालय प्रविधिको प्रयोगबाट सार्वजनिक महत्त्वका सूचना र तथ्याङ्क दिनु जरुरी छ भने पत्रकार भेटघाटलाई नियमित गर्नुपर्छ ।”
पत्रकारहरूको क्षमता विकासको लागि अर्थमन्त्रालयले आगामी दिनमा कार्यतालिका नै बनाएर काम गर्न उनले आग्रह गरेका थिए । त्यसका लागि नाफिज सरोकारावाला संस्थासँग समन्वय गर्न तयार रहेको पनि उनले बताए ।
















