एकिकृत समाजवादी पनि सरकारमा सहभागि हुन सकरात्मक
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादी पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जान सकरात्मक भएको छ । पछिल्लो समय १० सीटमा खुम्चिएको र राष्ट्रिय दल पनि बन्न नसकेको अवस्थामा समाजवादी सरकारमा जान सकरात्मक भएको हो ।
समाजवादीलाई पनि सरकारमा ल्याउनको लागि सत्तामा रहेका एमाले र माओवादीका नेताले पहल गरिरहेका छन् ।
नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई मनाउनका लागि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भेटेर सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।
दाहालले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग मिल्ने क्रममा आफूसँग छलफल नगरेको भन्दै नेपालले गुनासो गरेका थिए । त्यही गुनासोलाई सम्बोधन गर्दै दाहालले बुधबार वामदलहरूको नेतृत्वमा सरकार बनेकाले सहयोग गर्ने अनुरोध गरेका थिए ।
विगतमा सहकार्य गरेर अघि बढेको र अहिले पनि मिलेर जानका लागि कुनै सैद्धान्तिक विमति हुने विषय नभएकाले सहयोग गर्ने प्रधानमन्त्री दाहालले आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहालले गरेको आग्रहमा नेपालले कुनै ठोस विमति राखेनन् । उनले मिलेर जानका लागि आवश्यक आधारहरु बन्नुपर्ने धारणा राखेका थिए ।
बुधबारको भेटमा जसपाका अध्यक्ष उपेन्द्र यादव पनि थिए । नेपाल र यादव दुवैलाई दाहालले सरकारमा सहभागी भइहाल्ने प्रस्ताव गरेका थिए ।
नेपाललाई मनाउनका लागि एमालेका नेताहरु पनि सक्रिय भएका छन् । उपप्रधानमन्त्री विष्णु पौडेलले पनि नेपालसँग सहकार्य गर्न सकिनेबारे कुरा गरेका छन् । उता नेकपा विभाजन भएपछि छु्ट्टै पार्टी बनाएर करिब एक्लिएका नेता वामदेव गौतम पनि एमाले र माओवादी मिलेपछि राजनीतिक दृश्यमा देखिन थालेका छन् ।
गौतमले मंगलबार अध्यक्ष नेपाल लगायतका नेतालाई भेटेर सत्तागठबन्धनसँग मिलेर जान आग्रह गरेका थिए । नेता गौतमले नयाँ परिस्थितिमा नेकपा एसले सत्तागठबन्धनमा सहयोग नगरे ‘भूल’ हुने बताएका थिए ।
अध्यक्ष नेपाललाई मिलेर जानका लागि एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि उनलाई दुईपटक भेटिसकेका छन् ।
बुधबार एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष नेपाललाई उनकै निवासमा पुगेर भेटे । भेटमा नेता नेपालले सकारात्मक कुराकानी गरेको बस्नेतले जानकारी दिए ।
‘बसौं छलफल गरौं भन्नेमा उहाँ सकारात्मक हुनुहुन्छ हामी पनि सकेसम्म मिलर जाऔं भन्ने पक्षमा छौं,’ एमाले नेता बस्नेतले ईकान्तिपुरसँग भने ।
अध्यक्ष नेपालले विगतमा केपी शर्मा ओलीले धोकाधडीको राजनीतिक गरेकाले त्यसमा केही समीक्षा हुनुपर्ने बताउने गरेका छन् । विषेशगरी ओलीको कार्यशैलीको विरोध गरेका नेता नेपालले अहिले सामान्य समीक्षा समेत नगरी अघि बढ्दा त्यस्तै अवस्था दोहोरिने हो कि भन्नेमा बढ्ता चासो राख्ने गरेका छन् ।
तर पार्टी विभाजनले एउटा शिक्षा मिलिसकेको र चुनावपछि नयाँ परिस्थिति समेत बनेकाले अहिले पुराना कुराहरूलाई धेरै अहंको विषय नबनाइ अघि बढ्नुपर्ने धारणा सहमतिका लागि रहेका नेताहरूले नेपाललाई सुझाव दिने गरेका छन् ।
















