नेपालले भारतलाई थप ४३ मेगावाट बिजुली निर्यात गर्ने
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपालले भारतीय बजारमा थप ४३ मेगावाट बिजुली निर्यात गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले थप दुई आयोजनाबाट बिजुली निर्यात गर्न अनुमति पाएको हो ।
भारतीय इनर्जी एक्स्चेन्ज (आईएक्स)को डे अहेड बजारमा प्रतिस्पर्धामार्फत थप ४३ मेगावाट बिजुली बेच्न प्राधिकरणले स्वीकृति पाएसँगै भारतमा बिजुली निर्यात हुने आयोजनाको संख्या १० पुगेको छ ।
अहिले काबेली बी १ को २४.२५ मेगावाट र तल्लो मोदी आयोजनाको १९.४ मेगावाट बिजुली भारतमा बेच्न प्राधिकरणले स्वीकृति पाएको हो । अब नेपालले १० आयोजनाको कुल ४५२ मेगावाट बिजुली भारतलाई बेच्न स्वीकृति पाएको छ । हाल भने प्राधिकरणले बिजुली आयात गर्न थालेको छ ।
नदी प्रवाहमा आधारित जलवद्यिुत् केन्द्रहरुबाट उत्पादन कम हुन थालेपछि विद्युत् निर्यात बन्द गरी आयात थालिएको प्राधकिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
प्राधिकरणले आईएक्सको प्रतिस्पर्धी बजारमै विद्युत् बिक्री र खरिद गर्दै आएको छ । ‘आईएक्सबाट मात्र खरिद गर्ने या उत्पादकहरुसँग छोटो अवधिको विद्युत् खरिद सम्झौता गरी आयात गर्ने भन्ने बारेमा छलफल भइरहेको छ’, उनले भने, ‘यसका लागि बजार अध्ययन गरिरहेका छौं ।’
नेपालले यसअघि नै भारतमा बिजुली निर्यात गर्न अनुमति पाएका आयोजनाहरुमा चिलिमे, सोलुखोला, मर्स्याङ्दी, मध्य मर्स्याङ्दी, त्रिशुली, देवीघाट, कालीगण्डकी ए र लिखु छन् ।








