प्रधानमन्त्री प्रचण्ड : केही नयाँ गरेरै छाड्नेको केन्द्रीकरण भएको छ, मलाई सहज छ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो सरकारमा काम गर्न सहज हुने बताएका छन्। सोमबार साँझ कार्यभार सम्हालेर मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यसपालिको सरकारमा काम गर्न सहज हुने बताएका हुन्। काम गरेरै छाड्ने संकल्प भएकाहरूको केन्द्रीकरण भएकाले पनि आफूलाई सहज भएको उनले बताए।
‘केही नयाँ गरेरै छाड्ने संकल्प भएकाहरूको केन्द्रीकरण भएको छ। मलाई सहज छ,’ उनले भने। नयाँ सरकार गठनले जनतामा आशा र भरोसा भएको देखिएको पनि उनले बताए।
यस्तै मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभाको बैठक बोलाउने पनि निर्णय गरेको उनले बताए।
‘हाम्रो अगाडि देशको अगाडि, थुप्रै जटिलता र चुनौतीहरू छन्। तर यो मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ। र गएको निर्वाचनमा मतदानको जस्तो परिणाम देखियो त्यसलाई समेटेको छ र आशा जगाएको छ,’ उनले भने, ‘हामी भर्खरै पहिलो बैठक सक्यौं। र हामीले यो बैठकमा पनि सबैभन्दा पहिला नेपालको अर्थतन्त्रको स्थिति जटिल र चुनौतिपूर्ण दिशातर्फ छ, त्यसलाई सुधार्नेबारे छलफल गर्यौं।’
उनले जनताले पाइरहेको सास्तीलाई कम गर्ने बारेमा पनि निर्णय भएको बताए।
राहदानी विभाग, यातायात विभाग लगायत लामो लाइन हुने ठाउँहरूमा जनताले सास्ती भोग्न नपर्ने गरी नियन्त्रण र व्यवस्थापन गरिने उनले बताए।
‘जनताले ठाउँठाउँमा पाइरहेका सास्ती र दु:खहरूलाई कम गराउनेबारे; जस्तो राहदानी, लाइसेन्स सम्बन्धी विषयमा लामालामा लाइन र पीडा देखिएका छन्। त्यस विषयमा केन्द्रित भएर समयभित्रै नियन्त्रण गर्ने र प्रधावकारी ढंगले सेवा दिनेबारे निर्णय गरेका छौं,’ उनले भने।















