खुला सीमानाका कारण अवैध कारोबार फस्टायोः रोजेन्द्र मल्ल
|
Getting your Trinity Audio player ready...
|
धनगढी । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसँगको खुला सीमाका कारण अवैध कारोबार बढेको दाबी गरेका छन् । उनले सीमानालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
सीमाबाट हुने अवैध व्यापारका कारण सरकारले राजश्व समेत गुमाइरहेको अध्यक्ष मल्लले दाबी गरे ।
कैलाली चेम्बर अफ कमर्सले धनगढीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले भने,‘नेपाल भारत खुला सीमाको फाइँदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भइरहेको छ । यसले सरकारी राजश्वमा समेत गम्भीर असर गरिरहेको छ । मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउन आवश्यक छ, ।’
आयातलाई व्यवस्थित गरेर निर्यात प्रबर्द्धन गर्नका लागि सरकारसँग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको समेत अध्यक्ष मल्लले बताए ।
सरकारले करको दायरा फराकिलो पारेर राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष मल्लले भने, ‘सीमाबाट हुने राजश्व चुहावट नियन्त्रण हुन सकेको छैन । कसैले राजश्व तिर्ने कसैले नतिरे पनि हुने अवस्था सिर्जना भएको छ । करको दायरा बढाएर राजश्व प्रणालीलाई चुस्त बनाउन आवश्यक छ, ।’
कर राजश्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको अध्यक्ष मल्लले बताए । अर्थतन्त्रका अधिकांश सूचकहरु अहिले पनि नकारात्मक अवस्थामा नै रहेको भन्दै अध्यक्ष मल्लले चालुखर्च धान्न समेत मुस्किल राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्ने बताए ।












