प्रचण्ड निस्किए पछि गठबन्धन बैठक बिना निष्कर्ष सकियो
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनका नेताहरुबीचको बैठक बिना निष्कर्ष सकिएको छ । बैठकबाट प्रचण्ड बिचमै हिंडेकाले पनि बैठक सकिएको हो ।
गठबन्धनका नेताहरु बाहिरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेताहरु रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कासँग छलफल गरिरहेका छन् ।
चुनावमा आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारलाई निरन्तरता दिने प्रतिबद्वतासहित जनमत लिएका सत्ता गठबन्धन दल चुनावपछि भने सरकार गठनका लागि बार्गेनिङमा छन् । गठबन्धनमा रहेका दलहरुबीच शक्ति बाँडटको सहमति नहुँदा नयाँ सरकार गठन हुन सकेको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आइतबार साँझ ५ बजे सकिदैछ । तर दलहरुबीच सरकार गठनबारे सहमति हुन सकेको छैन ।
नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेका दल शक्ति बाँडफाँटको अन्तिम कसरतमा छन् । बिहान पार्टीभित्र आन्तरिक र शीर्ष नेताहरुबीच चरणबद्व छलफलपछि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेका थिए। छलफल मा सहमति नभएपछि दाहाल बाहिरिएका हुन् ।
माओवादी केन्द्रका नेताहरुले नेकपा एमालेसँग पनि अनौपचारिक छलफल गरिरहेका छन् भने कांग्रेसले पनि एमालेसँग संवाद टुटाएको छैन । आइतबार बिहानमात्रै कांग्रेस नेता विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओलीलाई निवासमै पुगेर भेटेका थिए । बालुवाटार स्रोतका अनुसार अहिले गठबन्धनकै सरकार बनाउने विषयमा सहमति जुटाउन अन्तिम कसरत चलिरहेको छ ।















