विहारमा इँटा भट्टा विस्फोट हुँदा ९ जनाको मृत्यु
विहार । पूर्वी भारतको विहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित नौ जना मजदुरको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीका अनुसार विहारको राजधानी पटनाबाट एक सय ५४ किलोमिटर उत्तरमा अवस्थित पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ उक्त दुर्घटना भएको हो ।
घाइतेको रक्सोलको निजी अस्पतालमा उपचार भइरहेको छ ।
विष्फोटको जानकारी प्राप्त हुने वित्तिकै उद्धारकर्ता र प्रहरी घटनास्थलमा पुगेका पूर्वीचम्पारण जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ ।
राज्यको विपद् व्यवस्थापन केन्द्रका उद्धारकर्ता भग्नावशेषमुनि खोजी गरिरहेका छन् । विष्फोटको कारण सार्वजनिक गरिएको छैन । सम्बद्ध निकायले अनुसन्धान थालेको छ ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा ज्यान गुमाएका प्रति श्रद्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।














