आज फ्रान्स पुग्दै सिरियल किलर चार्ल्स शोभराज, नेपाललाई मुद्दा हाल्ने धम्की
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । शुक्रवार नेपालबाट डिपोर्ट भएका सिरियल किलर चार्ल्स शोभराज आज फ्रान्स पुग्दैछन् । उनलाई डिपोर्ट गरेसंगै नेपाल सरकारले १० वर्षको नेपाल प्रवेशमा प्रतिबन्ध पनि लगाएको छ । नेपालमा १९ वर्ष जेल जीवन बिताएका शोभराजले नेपाल राज्यविरुद्ध मुद्दा हाल्ने बताएका छन् ।
स्वदेश फर्कने क्रममा शुक्रबार साँझ जहाजमा अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग कुरा गर्दै उनले रिहाई पछि खुसी अनुभूति गरिरहे पनि नेपाल राज्यलगायत धेरैविरुद्ध मुद्दा हाल्ने योजना रहेको खुलासा गरेका हुन् ।
‘मैले धेरै काम गर्न बाँकी छ र धेरैविरुद्ध मुद्दा हाल्नु छ, तीमध्ये नेपाल राज्य पनि हो,’ उनले भनेका छन् । अन्तर्वार्ताका क्रममा उनले आफूलाई ‘सिरियल किलर’ का रुपमा गलत चित्रण गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
उनले नेपालमा आफूमाथि लगाइएको दुई जनाको हत्या आरोप पनि अस्वीकार गरेका छन् । ‘मैले केही नगरे पनि कारागार लगियो,’ उनले भने, ‘म सबै मुद्दामा निर्दोष छु । त्यसैले मैले नराम्रो र राम्रो ठान्नुपर्ने कुरै छैन । म निर्दोष थिएँ । मलाई फर्जी कागजात (प्रमाण) का आधारमा फसाइएको हो ।’
उनले न्यायाधीशले कुनै साक्षी बिना र आरोपितलाई सफाईको मौका नै नदिई फैसला लेखेको आरोप लगाएका छन् । ‘नेपालमा जिल्ला देखि सर्वोच्च अदालतका सबै न्यायाधीशहरू चार्ल्स शोभराजविरुद्ध पूर्वाग्रही थिए’ उनको भनाई उद्धृत गर्दै एएफपीले लेखेको छ ।
सर्वोच्च अदालतको आदेशपछि शुक्रबार केन्द्रीय कारागारबाट छुटेका शोभराजलाई अध्यागमन विभागले २०८९ सालसम्म नेपाल प्रवेशमा रोक लगाउँदै कतारको दोहा हुँदै फ्रान्सका लागि ‘डिपोर्ट’ गरेको हो ।















