भारतका कप्तान रोहितले बंगलादेशविरुद्धको दोस्रो टेस्ट गुमाउने
काठमाडौं । भारतका कप्तान रोहित शर्माले बंगलादेशविरुद्धको एकदिवसीय शृंखलाका क्रममा औँलामा लागेको चोटका कारण अबको ढाका टेस्ट गुमाउने भएका छन् ।
दोस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्दा रोहितको औँलामा चोट लागेको थियो । उनलाई कम्तीमा दोस्रो टेस्टका लागि तयार पार्ने उद्देश्यले तुरुन्तै घर फर्काइएको थियो ।
रोहितको चोट निको भइसकेको बुझिए पनि भारतले अबका दुई महिना खेल्ने तालिकालाई ध्यानमा राख्दै आराम दिइएको हो । उनको अर्को साता स्वास्थ्य परीक्षण हुने भनिएको छ ।
भारतले आउँदो जनवरीमा श्रीलंका र न्युजिल्यान्डसँग समान तीन एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । सेतो बलको शृंखलापछि भारतले अस्ट्रेलियाविरुद्धको घरेलु मैदानमा फेब्रुअरी ९ देखि सुरु हुने चार टेस्टको शृंखला खेल्नेछ ।
रोहित अनुपस्थितिमा केएल राहुलले भारतको कप्तानी गर्नेछन् । चेतेश्वर पुजारा उपकप्तानमा छन् । रोहितको अनुपस्थितिको अर्थ शुभमन गिलले ओपनिङमा केएल राहुललाई साथ दिनेछन् । भारतले १८८ रनको विजय हासिल गरेको पहिलो टेस्मा शुभमनले करियरको पहिलो टेस्ट शतक प्रहार गरेका थिए ।
भारतीय टोली सोमबार बिहान ढाका पुगेको छ । भारतले मंगलबार र बुधबार दुई प्रशिक्षणसत्र सञ्चालन गर्ने अपेक्षा गरिएको छ ।














