टरिगाउँ विमानस्थलमा सातामा ५ दिन उडान हुने
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब साताको पाँच दिन उडान हुने भएको छ ।
यसअघि सातामा तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो ।
पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उनले बताइन् । हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको उनले जानकारी दिइन् ।
‘यसअघि इन्धन डिपोबाट इन्धन हाल्न सुरु भएको थिएन, अब यहीबाट इन्धन हाल्न थालिएको छ’, उनले भने, ‘त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको छ ।’ यात्रुको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्ने गरी तयारी गरेको उनको भनाइ छ ।
साथै निजी हवाई सेवासँग पनि समन्वय गर्ने गरी तयारी रहेको उनले बताए । ‘नियमित भएमा हामीले निजी क्षेत्रका जहाज ल्याउने गरिरहेका छौं’, उनले भनिन्, ‘त्यसमा यात्रुको माग कस्तो आउँछ, त्यसमा भर पर्छ ।’केही दिनअघिदेखि विमानस्थलमा निर्माण भएको इन्धन डिपोबाट इन्धन भर्न थालिएको हो । अहिले नेपाल वायुसेवा निगमको १९ सिटे ट्वीनअटर जहाजले सेवा दिइरहेको छ ।
कुनै समय दैनिक दुईवटासम्म उडान भर्ने गरिएको भए पनि पछिल्लो समय हवाई सेवा घटेर तीन दिनमात्रै भएको थियो । यसले गर्दा यस क्षेत्रबाट हवाई सेवाका लागि भैरहवा र नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । अब यसलाई अन्त्य गर्न थप दुई दिन हवाई सेवा थपिएको छ । यो सँगै अब पाँच दिन हवाई उडान भइरहेको छ ।
धावनमार्ग विस्तारको पहल
विमानस्थलको धावनमार्ग विस्तारका लागि प्रक्रिया अगाडि बढेको छ । अहिलेको धावनमार्ग सात सय ५० मिटर लम्बाइ रहेको भन्दै यसलाई बढाउनका लागि इञ्जीनियरको टोली आएको उपप्रमुख चौधरीले बताइन् । ‘इञ्जीनियर आएर डिपिआरका लागि सबै हेरेर गइसकेको छ’, उनले भनिन् ।
विमानस्थल विस्तारका लागि पहल गर्न तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति गठन गरेको छ । सोही समितिले अहिले आफ्ना गतिविधि अगाडि बढाएको छ ।
















