कांग्रेसलाई प्रेसरमा राख्न प्रचण्डको एमाले कार्ड
काठमाडौँ । यही मंसिर ४ मा भएको चुनावमा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि र गठबन्धन नै पनि सरकार गठनका लागि अन्य साना दलको भर पर्नुपर्ने अवस्था आएको समयमा माओवादीले सरकारको नेतृत्व लिनको लागि दबाब सृजना गर्न थालेको छ ।
संसदीय अंकगणितीय बाध्यताबीच माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने रणनीति अनुसार उनले एमाले नेताहरूसँग संवाद अघि बढाएका छन् । त्यही क्रममा माओवादी महासचिव देव गुरुङ बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे । ‘नेताहरूबीच अनौपचारिक कुराकानी सबैसँग भइराखेकै छ,’ उनले भने, ‘मैलेचाहिँ ओलीजीलाई भेटेर बधाई दिएँ । अरू सामान्य कुराकानी भयो ।’
केही दिनअघि एमाले उपाध्यक्ष विष्णु पौडेल र पोलिटब्युरो सदस्य महेश बस्नेतले खुमलटार पुगेर दाहालसँग छुट्टाछुट्टै छलफल गरेका थिए भने प्रत्यक्षतर्फको निर्वाचन परिणाम आएपछि ओली र दाहालबीच टेलिफोन संवाद पनि भएको थियो ।
निर्वाचनमा माओवादीले तेस्रो र निर्णायक परिणाम नल्याए पनि दाहाल प्राप्त जनमतका बलमा प्रधानमन्त्री हुने दाउमा छन् । तर, दाहाललाई दोस्रो कार्यकालका लागि प्रधानमन्त्री दिन प्रधानमन्त्री शेरबहादुर देउवामाथि पार्टीभित्रै दबाब छ ।
पार्टी नेताहरूका अनुसार दाहालका अहिले प्रमुख दुई दाउ छन्– आफ्नै नेतृत्वमा सरकार गठन गर्ने वा राष्ट्रपति र सभामुखमध्ये एक पद लिएर दोस्रो कार्यकाल पर्खने । कांग्रेस र अन्तर्राष्ट्रिय शक्तिले माओवादीलाई राष्ट्रपति पद नदिनेमा दाहाल जानकार छन् । त्यसैले उनी दुई वर्षका लागि मात्र भए पनि सुरुमै प्रधानमन्त्री हुन चाहन्छन् ।
दाहालले आफूलाई सरकारको नेतृत्व दिएर कांग्रेसले राष्ट्रपति लिनुपर्ने प्रस्ताव अघि सारिसकेका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीसँगको भेटमा दाहालले पहिलो चरणमै सरकारको नेतृत्व गर्न चाहेको प्रस्ट धारणा राखेका थिए । त्यसअघि कांग्रेस नेता रामचन्द्र पौडेलसँग पनि उनले यस्तै धारणा राखेका थिए ।
राष्ट्रपतिको विषय पेचिलो बन्दै गएपछि सुषुप्त रहेको दाहालको चाहना मुखरित बन्दै जान थालेको हो । उनले सार्वजनिक कार्यक्रममा पनि सरकारको नेतृत्व लिने संकेत गरिरहेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्कामार्फत देउवासँग पनि दाहालको अनौपचारिक संवाद जारी छ ।
खड्काले भने राज्यशक्ति बाँडफाँटका लागि कुनै छलफल नभएको दाबी गरेका छन् । ‘मसँगको भेटघाटमा प्रचण्डले सरकारको नेतृत्वका विषयमा केही बोल्नुभएको छैन, पहिला संसदीय दलको नेता छानौं, त्यसपछि यस विषयमा प्रवेश गरौंला भनेकाले अहिले त्यतातिर प्रवेश नगरेका हौं,’ खड्काले भने, ‘तर गठबन्धनकै नेतृत्वमा सरकार बन्ने विषयमा असमझदारी छैन । कहीं, कतै समस्या आउँदैन ।’















