नेपालमा पुस २८ भित्र सरकार गठन भइसक्ने
काठमाडौँ । मंसिर ४ मा भएको चुनाव पछि नयाँ सरकार पुस २८ अवागै हुने भएको छ । संविधानतः निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम नतिजा घोषणा गरेको ३५ दिनभित्र प्रधानमन्त्रीको नियुक्ति भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।यस कारणले पनि सरकार गठनको लागि तयारी अब पुर्ण रुपमा सुरु हुनेछ । तर, यसपटकको चुनावमा एउटै दलको बहुमत नपुग्ने भएकाले संयुक्त सरकार गठनको गृहकार्य हुनेछ । नतिजा घोषणाको ३० दिनभित्र संयुक्त सरकार गठन भइसक्नुपर्ने व्यवस्था संविधानको धारा ७६ मा छ ।
त्यतिन्जेल प्रधानमन्त्री नियुक्त हुन नसके सरकार गठनको अर्को विकल्पमा जानुपर्छ । आयोगले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेर बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाएको छ ।
संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने गरी कोही प्रधानमन्त्री नियुक्त हुन नसके धारा ७६ (३) अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दल नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ ।
८९ सिटसहित कांग्रेस संसद्को सबैभन्दा ठूलो दल बनेको छ । यस्तो अवस्थामा ८९ सिटसहित सबैभन्दा ठूलो दल बनेको कांग्रेसको संसदीय दल नेता प्रधानमन्त्री नियुक्त हुन्छन् । यो व्यवस्थाबमोजिमको सम्पूर्ण प्रक्रिया निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र पूरा गरिसक्नुपर्ने हुन्छ ।
संविधानको धारा ७६ (८) मा संविधानबमोजिम भएको प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नु भन्ने व्यवस्था उल्लेख छ ।
सरकारको नेतृत्व गर्न चाहने दललाई ३५ दिनभित्रै बहुमत जुटाउनुपर्ने बाध्यात्मक व्यवस्था छ ।
प्रदेशको मुख्यमन्त्री पनि संघकै जस्तो पुस २८ भित्र नियुक्ति गरिसक्नुपर्नेछ । सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्ने कि राजनीतिक दलले बहुमत जुटाएर माग गर्ने भन्ने व्यवस्था भने किटान गरिएको छैन । यस्तो अवस्थामा राजनीतिक दलहरूले बहुमत जुटाएर प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिकामा जाने अभ्यास छ ।

०७४ को निर्वाचन पछि एमाले अध्यक्ष केपी शर्मा ओली शपथसमेत नलिई प्रधानमन्त्रीको दाबी लिएर गएका थिए । प्रधानमन्त्री नियुक्तिपछि मात्रै उनीसहित सांसदको शपथ भएको थियो ।
संविधानको धारा ८८ मा संघीय संसद् र धारा १७९ मा प्रदेशसभाका सदस्यको शपथसम्बन्धी प्रावधान छ । दुवै सभाका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्नेछ । संविधानमा सरकार प्रमुख हुन प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सपथ लिनुपर्ने प्रावधान छैन ।
विगतमा संसद् बैठक बस्ने दुई दिनअघि मात्रै शपथ गराउने गरिए पनि यसपालि चाँडै सक्ने तयारी संसद् सचिवालयको छ । सचिवालयले प्रतिनिधिसभाका २ सय ७५ जनाको शपथ संसद् बैठक कक्षमै गराउने तयारी गरेको छ । प्रतिनिधिसभामा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्तिका ३, जनमोर्चाका १, नेमकिपाका १ र स्वतन्त्र ५ सांसद छन् ।
निर्वाचनपछि पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन् । ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिएपछि सांसदलाई शपथ गराउने छन् । आयोगले निर्वाचितको सूची पठाएपछि ज्येष्ठ सदस्य यकिन हुनेछ । आयोगका अनुसार प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सदस्य सर्लाही–२ बाट निर्वाचित माओवादीका महेन्द्रराय यादव हुन् । उनी ८५ वर्षीय हुन् ।
०७४ मा पनि उनी सबैभन्दा ज्येष्ठ थिए तर उनी अनुपस्थित भएपछि महन्थ ठाकुरले शपथ गराएका थिए । संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।
संसद् अधिवेशन सरकारको सिफारिसमा आह्वान र अन्त्य गरिन्छ तर पहिलो बैठक सरकारको सिफारिस आवश्यक पर्ने वा नपर्ने स्पष्ट छैन । प्रदेशसभाको बैठक पुस तेस्रो साताभित्रै बसिसक्नुपर्ने हुन्छ । संविधानको धारा १८३ (१) मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।
आयोगले प्रदेशसभा सदस्यको नतिजा बुधबार नै सार्वजनिक गरिसकेको छ । यसअनुसार पुस १८ भित्र प्रदेशसभा बैठक बस्नुपर्ने हुन्छ । आयोगका पदाधिकारीले शनिबार प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउँदै छन् ।















