सरकार निर्माणमा बाह्य हस्तक्षेप देखियो,कांग्रेस-एमाले मिल : नागरिक अगुवा
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक दलहरु सरकार निर्माणको चरणमा रहेको अवस्थामा बाह्य हस्तक्षेपको आशंका गर्दै केही नागरिक अगुवाले कांग्रेस र एमाले मिलेर जानुपर्ने धारणा सार्वजनिक गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै तीर्थमान शाक्य, कुलचन्द्र गौतम, युवराज घिमिरे, सुशील प्याकुरेल र कनकमणि दीक्षितले आगामी सरकार कांग्रेस र एमालेको हुनुपर्ने सुझाव दिएका छन् ।
निर्वाचनबाट सांसद आएपछि सरकार बनाउनु संविधानको व्यवस्था रहेको तर शीर्ष नेता र विभिन्न देशका कूटनीतिज्ञबीच भइरहेका भेटले आशंका उत्पन्न गरेको उनीहरूको ठहर छ । ‘अहिले हाम्रा शीर्ष नेता र विभिन्न देशका कुटनीतिज्ञहरूबीच जसरी भेटघाटको शृङ्खला चलिरहेको छ, यसले निर्वाचनमार्फत् व्यक्त भएको अभिमत सरकार निर्माणमा कतै निर्णायक नहुने त होइन भन्ने आशङ्का उत्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
कुनै पनि हालतमा शक्तिमा टाँसिइरहनुपर्ने नेताहरूको लालसाले प्रजातन्त्रलाई कमजोर बनाइरहेको उनीहरूको भनाइ छ । यसपटकको निर्वाचनमार्फत् नयाँ पुस्ताले सरकार सञ्चालन उत्तरदायी ढंगले होस् भनी आकांक्षा राखेको भन्ने प्रकट भइरहेको बेला शीर्ष नेताहरूले त्यसमा सहयोगी भूमिका निभाउने लक्षण नदेखाउनु आपत्तिजनक भएको उनीहरूको भनाइ छ ।
सरकार निर्माणका लागि अहिले भइरहेका बाह्य/वैदेशिक हस्तक्षेप, अनाधिकृत तथा अप्रजातान्त्रिक दौडधुपले जनआकांक्षाको विपरित हुने भएको भन्दै उनीहरूले संसद्को ठूलो दल कांग्रेस र एमाले मिल्नुपर्ने विकल्प अगाडि सारेका छन् । ‘चुनावबाट सबैभन्दा ठूलो दल बन्न पुगेको नेपाली कांग्रेसले गठबन्धन बाहिर रहेका सिद्धान्त र एजेण्डा मिल्ने दलहरूसँग मिलेर सरकार गठन गर्नु उपयुक्त हुन्छ भन्ने हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकार गठनमा अस्वस्थ अभ्यास हुन नपाओस् र बाह्य शक्तिले सरकार निर्माण गर्ने नेपाली जनताको सार्वभौम अधिकारमा हस्तक्षेप गर्न नपाउन् भन्ने सुनिश्चित गर्न पनि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच छलफल हुनुपर्छ भन्ने हामी ठान्छौं ।
प्रजातान्त्रिक पृष्ठभूमिबाट आएका यी दुई दलहरू निरन्तर संवादमा रहुन् र वैदेशिक सम्बन्ध, आर्थिक नीति, सामाजिक न्याय तथा संविधानवादका आधारबारे साझा धारणा बनाउन् भन्ने हाम्रो चाहना छ ।’
वर्तमान गठबन्धन कायम रहेको राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र संवैधानिक अंगका प्रमुख तथा सदस्यहरूमा गलत पात्रहरूको निर्वाचन अथवा चयन हुनसक्ने उनीहरूको आरोप छ ।
यस्तो छ अपीलको पूर्णपाठ
















