विरोध प्रदर्शनमा उत्रिएका ४०० जनालाई इरानका अदालतले सुनाए १० वर्षसम्मको जेल सजाय
इरानको राजधानी र वरपरका अदालतहरूले हालैको विरोध प्रदर्शनसँग सम्बन्धित ४०० जनालाई जेल सजाय तोकेका छन्। त्यसमध्ये केहीलाई १० वर्षसम्मको जेल सजाय तोकिएको बताइएको छ।
न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले उद्धृत गरेको टिप्पणीअनुसार न्यायपालिका प्रमुख अली अल्घासी-मेहरले भनेका छन्: ‘एक सय ६० जनालाई पाँचदेखि १० वर्षसम्म जेल, ८० जनालाई दुईदेखि पाँच वर्ष र १६० जनालाई दुई वर्षसम्मको सजाय सुनाइएको छ।’
तेहरान देशका ३१ प्रान्तहरू मध्येको एक हो। यसको अर्थ जेल सजाय तोकिएकाहरुको कुल संख्या धेरै गुणा बढी हुन सक्ने अनुमान गरिएको छ। संयुक्त राष्ट्रका मानवअधिकार विज्ञहरूले सेप्टेम्बरको मध्यदेखि हालसम्म देशभर १४ हजारभन्दा बढी व्यक्ति पक्राउ परेको अनुमान गरेका छन्।
कुर्दिश-इरानी महिला महसा अमिनीको मृत्युपछि आन्दोलन सुरु भएको थियो। गलत तरिकाले टाउकोमा स्कार्फ लगाएको भन्दै अमिनीलाई प्रहरीले कुटपिट गरेपछि उनको मृत्यु भएको थियो। तर, यो धेरै वर्षपछिको सबैभन्दा ठूलो नागरिक विद्रोहमा परिणत भएको छ। इरानीहरूले धर्मको नाममा दशकौँदेखि भोग्नुपरेको विभेद, दुराचार र दमनविरुद्ध आफ्नो क्रोध व्यक्त गरेका छन्। प्रशासनले आन्दोलनकारीहरुमाथि बल प्रयोग गर्ने गरेको छ














