तवाङ्मा भएको झडपमा कसैको पनि मृत्यु भएको छैनः राजनाथ सिंह
नयाँ दिल्ली । भारतीय रक्षामन्त्री राजनाथ सिंहले अरुणाचलको तवाङमा चिनियाँ सेनासँग भएको झडपमा कसैको ज्यान नगएको बताएका छन्।
मंगलबार बसेको लोकसभा रक्षा मन्त्री सिंहले चिनियाँ सेनासँगको झडपबारे सरकारको भनाइ राखेका हुन्।
‘९ डिसेम्बरमा चिनियाँ सैनिकले तवाङ क्षेत्रस्थित याङ्ग्त्से इलाकामा वास्तविक नियण्त्रण रेखा अतिक्रमण गरेर एकतर्फी सीमा मिच्ने प्रयास गरे’, उनले भने, ‘चीनको यस प्रयासको हाम्रो सेनाले दृढताकासाथ सामना गरे। यस झडपमा कसैको हताहती भएको छैन। भारतीय सेनाले बहादुरीपूर्वक चिनियाँ सैनिकलाई हाम्रो क्षेत्रबाट उनीहरुको पोस्टमा जान बाध्य बनाए। यस झडपमा दुवैतर्फका केही सैनिक घाइते भएका छन्।’
रक्षा मन्त्री सिंहले झडपका क्रममा कुनै पनि भारतीय सैनिकको मृत्यु नभएको बताए ।
उनले यो घटनामा चिनियाँ पक्षलाई दोषी ठहर गरेका छन्।
सीमामा शान्ति बनाइराख्न चिनियाँ पक्षसँग भारतले अपिल गरेको छ। यस मुद्दालाई भारतले कूटनीतिक माध्यमबाट चिनियाँ पक्षसँग उठाउने भएको छ।
उस घटनापछि त्यहाँस्थित भारतीय सेनाका स्थानीय कमाण्डरले ११ डिसेम्बरमा आफ्नो चिनियाँ समकक्षीसँग स्थापित व्यवस्थाअनुसार बैठक गरेका छन्।
राजनाथ सिंहले आफ्नो सार्वभौम सत्ता जोगाउन भारतीय सेना सक्षम रहेको पनि बताएका छन्। भारतीय भूमिविरुद्धको कुनै पनि क्रियाकलापलाई सेनाले रोक्ने पनि उनले बताएका छन्।















