जेलमा रहेका अपराधी छुटाएर देउवा सरकार बनाउन लाग्नुभएको छ: विष्णु रिजाल
काठमाडौं / नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन्। सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी आइतबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेको थियो।
सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो।
उक्त अध्यादेश फिर्ता लिन विभिन्न पार्टीका नेताहरूले माग गरिरहेका छन्।
एमाले केन्द्रीय सदस्यसमेत रहेका रिजालले रेसम चौधरीलाई रिहाइ गरेर देउवाले एक तीरले दुई शिकार गर्न खोजेको आरोपसमेत लगाएका छन्।
‘इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर– जे गरेर भए पनि सत्तामा पुग्ने विशेषज्ञता हासिल गर्नुभएका ‘सत्ताका सदाबहार सौदागर’ शेरबहादुर देउवा यसपटक जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लाग्नुभएको छ,’ रिजालले ट्वीट गर्दै भनेका छन्।
देउवाले नयाँ सरकार बनाउन माओवादीबिना नै बहुमत पुर्याउन खोजेकोसमेत उनले दाबी गरेका छन्।
‘माओवादीबिनै बहुमत पुर्याउने गरी प्रचण्डलाई दवावमा राख्न रेशम चौधरीलाई रिहाइ गरेर एक तीरले दुई शिकार गर्दा संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको लज्जा उत्रिएको यसभन्दा शर्मनाक कुरा अरु के हुन्छ र?’ उनको प्रश्न छ।
सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि यसको विरोध भइरहेको छ।
यो पनि: रेशम छुटाउन ल्याउन लागेको अध्यादेशप्रति महामन्त्री शर्माको आपत्ति (samajtimes.com)
सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता हुनुपर्छ: रवि लामिछाने (samajtimes.com)















