यसरी चुनिनेछन् नयाँ राष्ट्रपति र उपराष्ट्रपति
काठमाडौं । संसदीय र प्रदेश चुनाव सकिएसंगै अब राष्ट्रपति र उपराष्ट्रपति चुनावको सरगर्मी पनि सुरु हुँदैछ । सरकार गठन भइसकेपछि संघीय संसदको बैठक बसेको १५ दिनमा सभामुख र उपसभाममुख चुन्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । त्यसपछि मात्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुन्छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि भने प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुनेछन् । तर संघीय सांसदहरुले दिएको १ भोट बराबर ७९ र प्रदेश सभा सदस्यले दिएको १ भोटको ४८ मतभार हुने बताउनुहुन्छ निर्वाचन आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए । उनले राष्ट्रपति हुनका लागि ४५ वर्ष उमेर पुगेको र कानूनले योग्य ठहरिएको व्यक्ति हुनुपर्ने बताए ।
उनले प्रदेश सभाका सदस्यको एक जनाले दिएको मत ४८ र प्रतिनिधि सभाका एक जना सदस्यले दिएको ७९ जोड्दै ५० प्रतिशत भन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा विजयी बन्ने बताए ।
सहायक प्रवक्ता अर्यालका अनुसार पहिलो चरणमा राष्ट्रपतिका लागि इच्छुक सबैले उम्मेदवारी दिन पाएपनि पहिलो चरणबाट निर्वाचित हुन नसकेको खण्डमा भने दोस्रो चरणमा पहिलो चरणमा पहिलो र दोस्रो बनेको उम्मेदवारहरुबीच मात्रै प्रतिष्पर्धा गराइने जानकारी दिए ।
पहिलो चरणमा प्रतिष्पर्धा गर्ने पहिलो र दोस्रो बाहेकका अन्य उम्मेदवार भने प्रतिष्पर्धाबाट बाहिरिने छन् । दोस्रो निर्वाचनको चरणमा पनि कुनै एक उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेको खण्डमा पुनः अर्को पटक मतदान गर्दा सबै भन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा निर्वाचित हुने प्रावधान छ ।
राष्ट्रपति र उपराष्ट्रपति चुन्दा फरक लिङ्ग र फरक समुदायको हुनुपर्ने भएकाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकै चरणमा गर्न नसकिने संविधानमा स्पष्ट रुपमा उल्लेख छ ।
राष्ट्रपति र उपराष्ट्रपतिका लागि संघीय संसदको सांसद हुने योग्यता पुगेको व्यक्ति हुनुपर्ने छ । राष्ट्रपति र उपराष्ट्रपतिका लागि सांसद हुनु नपर्ने तर ४५ वर्ष उमेर पुगेको, कानूनले योग्य व्यक्ति, फरक लिङ्ग र फरक समुदायको हुनुपर्ने छ । दुई पटक भन्दा बढी राष्ट्रपति भएको व्यक्ति भने तेस्रो पटक राष्ट्रपति बन्न नपाउने प्रावधान छ ।
निर्वाचनपछि आउने नयाँ सांसद र प्रदेश सभाबाट केही महिना भित्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहितका करिब ३ दर्जन पदाधिकारी निर्वाचित हुँदैछन् । ३४ जना नयाँ पदाधिकारी आउने भएपछि यतिबेला दलहरुबीच सत्ता समिकरणका लागि उक्त पदमा बाँडफाँट हुँदैछ । संविधानले संघीय संसद गठन भएको एक महिना भित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।
राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ६२ को उपधारा ३ ले निर्वाचन मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति अर्थात मतदानमा कुल मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था गरेको छ ।
निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी २ सय ७५ तथा राष्ट्रिय सभाका ५९ सहित ३ सय ३४ सांसद र प्रदेश सभाका ५ सय ५० सांसद गरी कुल ८ सय ८४ सांसद राष्ट्रपतिको निर्वाचनमा सहभागी हुने छन् ।















