माओवादी बैठकमा विशेष महाधिवेशनको माग
नेकपा माओवादी केन्द्रको बैठकमा विशेष महाधिवेशनको माग भएको छ । चुनावी समीक्षा गर्नका लागि बोलाइएको पदाधिकारीको अनौपचारिक बैठकमा केही नेताहरूले विशेष महाधिवेशनको माग गरेका हुन् । चुनावमा पार्टीको समग्र अवस्था खस्किएको देखिएको भन्दै केही पदाधिकारीले विशेष महाधिवेशनमार्फत पार्टीलाई ‘रिफर्म’ गरिनुपर्ने धारणा राखेका हुन्।
उनीहरूले कतिपय स्थानमा गठबन्धन भएपनि मत ट्रान्सफर नहुँदा पार्टी हार्ने अवस्थामा पुगेको भन्दै यसको गम्भीर समीक्षा हुनुपर्नेमा पनि पदाधिकारीहरूले जोड दिएका थिए । यस्तै पार्टी संगठनलाई चुस्त बनाइनुपर्ने तथा आफ्नै संगठनको बलमा जित्ने अवस्थाको सिर्जना गरिनुपर्नेमा पनि नेताहरुले धारणा राखेका थिए ।
पार्टी पदाधिकारीले राखेको धारणाको सबै टिपोट प्रचण्डले गरेको एक नेताले बताए । ‘पार्टीले किन हार्यो ? किन मत कम आयो ? भनेर पनि पदाधिकारीको मत आएको छ’, बैठकपछि एक नेताले भने, ‘ती सबै मतलाई प्रतिवेदनको रुपमा प्रचण्डले तयार गर्ने छन् । त्यसपछि स्थायी समिति बैठकमा छलफल हुने भएको छ ।’
बैठकमा टिकट नपाएकाले किन नदिएको भन्दै नेतृत्वलाई प्रश्न समेत गरेका थिए । यस्तै टिकट पाएर हारेकाले भने देशी विदेशी षडयन्त्रबाट आफू पराजित भएको बताएका थिए । यस्तै अन्तर्घातको विषय पनि बैठकमा उठेको बताइएको छ।














