धनगढीमा उत्पन्न तनावपछि स्थानीय प्रशासनले लगायो निषेधाज्ञा आदेश
धनगढी । दुर्घटनामा छात्राको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
बिहीबार विहान साइकल चढेर विद्यालय जाँदै गरेकी १५ वर्षकी चेतना साउदलाई सडक सम्याउँदै गरेको ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि स्थानीय वासिन्दा र पद्मोदय माध्यमिक विद्यालय हसनपुरका विद्यार्थीले दिनभर प्रदर्शन गरेका थिए ।
विद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गर्नुका साथै सडकमा टायर बाल्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सो अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको आदेशमा उल्लेख गरिएको छ,–‘जिल्ला बैतडी डिलासैनी गाउँपालिका वडा नं. ६ बस्ने गणेश साउदकी छोरी वर्ष १५ की चेतना साउँद हाल यस जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ५ स्थित पञ्चोदय मा.वि. हसनपुर कक्षा ८ मा अध्ययनरत छात्राको मिति २०७९÷०८÷१५ गते बिहान १०ः१५ बजे विद्यालय जाने क्रममा धनगढी उपमहानगरपालिका वडा नं. ५ स्थित पिपल चौतारा दोबाटोमा सडक निर्माणको क्रममा ग्रेडरबाट दुर्घटना हुँदा मृत्यु भई उक्त घटना पश्चात् सृजना भएको परिस्थितिलाई मध्यनजर गर्दै हुन सक्ने अराजक गतिविधिहरूलाई नियन्त्रण गरी सर्वसाधारण नागरिकहरूको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न आवश्यक देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम यस जिल्लाको तपसिलका क्षेत्र र समयमा ५ जनाभन्दा बढी व्यक्तिहरू आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन जिल्ला सुरक्षा समिति कैलालीको मिति २०७९।०८।१५ गतेको निर्णयअनुसार निषेध गरिएको छ। यस आदेशको उल्लङ्घन गरेमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा सम्बन्धित सबै सर्वसाधारणको जानकारीका लागि सूचित गरिएको छ ।’














