कांग्रेसलाई सरकार गठनमा सघाउन सीके राउत सहमत
काठमाडौं । अब बन्ने नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागि हुन जनमत पार्टी पनि सहमत भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवासंग भेट गरेपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता गठबन्धनमा सामेल हुन सकरात्मक रहेको बताएका हुन् ।
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
बेलुकी भएको भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गरेका थिए । कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।
‘भर्खरै जनमत पार्टीका अध्यक्ष राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भयो । दुवै नेताबीचको छलफल सकारात्मक भयो । कांग्रेससँग संघ र प्रदेश दुवै तहमा सहकार्य गर्ने सहमति भएको छ,’ निधिले भने ।














