आबेको हत्यापछि शोकमा डुब्यो जापान
टोकियो ।पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि सम्पूर्ण जापान नै अहिले गहिरो शोकमा डुबेको छ । राजनीतिक हिंसाको एक असामान्य कार्यले देश नै स्तब्ध बनेको छ । शनिबार शोकाकुल मानिसहरूको समूह पश्चिमी शहर नारामा आबेको रक्तपातपूर्ण हत्या भएको स्थलको भ्रमण गरेको छ ।
जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेलाई शुक्रबार बिहान ४१ वर्षीय व्यक्तिले एउटा चुनावी सभामा हत्या गरेका थिए । बेलाई गोली लागेपछि नारा अस्पताल लगिएको थियो । आक्रमणको साढे पाँच घन्टापछि उनलाई मृत घोषित गरिएको थियो ।
उक्त हत्याको विश्व नेताहरूले निन्दा गरेका छन् । प्रहरीले आबेको हत्याराको उद्देश्य पत्ता लगाउने प्रयास गरिरहेको छ ।
‘नारामा यस्तो घटना भएको देखेर म स्तब्ध छु’, डाउनटाउनको रेल स्टेसननजिकै भएको घटनास्थलमा फूल चढाएपछि ५० वर्षीय गृहिणी नात्सुमी निवाले भनिन् ।
अबेको हत्यापछि उपनिर्वाचनमा सहनुभूतिको मत बढ्ने आँकलन पनि गरिएका छन् । ‘अब सहानुभूतिको मतले विजयको मतान्तर बढाउन सक्छ’, सल्लाहकार फर्म टेनेओका उपाध्यक्ष जेम्स ब्राडीले भने । आबेको ठूलो प्रभाव रहेको लिबरल डेमोक्र्याटिक पार्टीले धेरै सिट ल्याउने यसअघि नै अनुमान गरिएको थियो ।
आबेको मृत्युले जापानमा सार्वजनिक व्यक्तित्वहरूका लागि सरकारले प्रदान गर्दै आएको सुरक्षाका बारेमा प्रश्न खडा गरेको छ । चुनावी मौसममा राजनीतिज्ञहरूले रेल स्टेसनहरू र सुपरमार्केटबाहिर मतदाताहरूलाई प्रत्यक्ष अपील गर्छन् । त्यस्ता क्षेत्र सुरक्षाका दृष्टिले बढी संवेदनशील मानिन्छन् ।
संसदको माथिल्लो सदनका लागि मतदान हुनुअघि चुनावी प्रचारको अन्तिम दिन शनिबार फेरि प्रचारसुरु भएको छ । चुनावमा प्रधानमन्त्री फुमियो किशिदाको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जित्ने आशा गरिएको छ ।
धेरै पार्टीहरूले शनिबार वरिष्ठ व्यक्तित्वहरूलाई भाषण गर्न रोक्ने प्राप्त विवरणमा जनाइएको छ ।
आबेको शव टोकियोस्थित घरमा लगियो, अन्तिम संस्कार मंगलबार
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शव बोकेको सवारी टोकियोस्थित उनको घरमा पुगेको छ । दक्षिणी सहर नारामा शुक्रबार बिहान एउटा राजनीतिक कार्यक्रममा बोल्ने क्रममा आबेको गोली हानी हत्या भएको थियो ।
शव बोकेर टोकियोमा आबेको निवासमा पुग्दा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का सदस्यहरू कालो पहिरन लगाएर श्रद्धाञ्जली दिन लाइन लागेका थिए । श्रद्धान्जली दिन प्रधानमन्त्री फुमिओ किसिदा पनि आबेको निवासमा जाने अनुमान गरिएको छ । यसैबीच, आबेको अन्तिम संस्कार मंगलबार गर्ने जनाइएको छ ।
हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले एउटा ‘विशेष संगठन’प्रति आक्रोश व्यक्त गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीका अनुसार आबे पनि सोही संगठनमा आबद्ध थिए । यद्यपि, संगठनबारे थप विवरण केही दिइएको छैन् ।















