“मैले यस कारण एनआरएनए अमेरिका साधारण सभामा भागमा लिइन” : सुनील शाह, निवर्तमान अध्यक्ष

अमेरिका । गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको साधरण सभा अहिले नर्थ क्यारोलिनामा भइरहेको छ। तर साधारण सभामा निवर्तमान अध्यक्ष सुनील शाह सहभागि छैनन् ।
आइसीसीको कोषाध्यक्ष समेत रहेका शाह अमेरिका निवासी हुन्। टेक्सासमा रहेका उनले साधरण सभा बहिस्कार गर्नुको कारण यसरी प्रष्टाएका छन्।
शाहको विज्ञप्ति
सम्पूर्ण अमेरिकाबासी गैर आवासीय नेपालीमा सादर नमस्कार ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकालाई विश्वकै उत्कृष्ट राष्ट्रिय समन्वय परिषद् बनाउन विगतदेखिनै तपाई सबैले गर्नुभएको योगदानको स्मरण गर्दै सबैमा उच्च सम्मान व्यक्त गर्दछु । राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्षहरु, पूर्व पदाधिकारीहरु तथा पूर्व कार्यसमितिका सदस्यहरु, संस्थापक अभियन्ताहरु एवं संघलाई अनवरत रुपमा माया गर्नुहुने सबै सदस्यहरुको योगदानले नै राष्ट्रिय समन्वय परिषद् अमेरिका यहासम्म आईपुगेको हामी सबैलाई थाहा नै छ ।
संघलाई सबै अमेरिकाबासी गैर आवासीय नेपालीको साझा र प्रतिनिधिमुलक संस्था बनाउने दिशामा हामी सबै एक भएर लाग्नुपर्ने अवस्था रहेको छ । एकता वद्ध एनआरएनए अमेरिकाले मात्रै सबै अमेरिकाबासी एनआरएनहरुलाई गोलबन्द गर्न र एनआरएनहरुको आवाजको साझा प्रतिनिधित्व गर्न सक्दछ भन्ने तर्फ हामी सबै सचेत बन्नैपर्दछ । एनआरएनए अभियानमा संलग्न सबै अभियन्ताहरुलाई समेटेर लैजान सक्दा मात्रै हामीले सबल र सक्षम राष्ट्रिय समन्वय परिषद् बनाउन सक्दछौं भन्ने हेक्का राख्न म सम्बद्ध सबैमा अनुरोध गर्दछु ।
सबैले अपनत्व अनुभव गर्न सक्ने एनआरएनएले मात्रै गैर आवासीय नेपालीको प्रतिनिधित्व गर्न सक्दछ भन्ने कुरालाई महत्व दिएरै नै एनआरएनए अभियानलाई विशेष महत्व दिई समस्या, असहमती र मत मतान्तर बिच पनि सबै समेटिने गरी एकतावद्ध एनआरएनए आईसीसी बनेको पनि यहा स्मरण गर्न चाहन्छु । म एनआरएनए अमेरिकाको निवर्तमान अध्यक्षको नाताले सबैलाई समेटेर लैजानका लागि सम्बन्धित सबैमा हार्दिक अपिल पनि गर्न चाहन्छु, मेरो व्यक्तिगत सहयोगका लागि म सधै नै सकारात्मक नै रहेको पनि जानकारी गराउदछु ।
आजको दिनमा मैले भन्नै पर्ने हुन्छ, सबैलाई समेटेर लैजाने दिशामा सम्बन्धित पक्षवाट चुक भएकै छ, म कमिकमजोरीलाई आत्मसात गरी सबै समेटिने र सबैले अपनत्व अनुभव गर्ने गरी संघलाई नया दिशा दिन पनि म अनुरोध गर्न चाहन्छु ।
म, एनआरएनए अमेरिकाको विभिन्न पदमा रहदैं नेतृत्व गर्दा सहयोग र सद्भाव व्यक्त गर्नुहुने र एकतावद्ध एनआरएनए बनाउनका लागि सदैव योगदान गर्नुहुने सबैलाई फेरि सम्मान व्यक्त गर्दछु, सबै समेटिएको र सबैले हाम्रो हो भन्ने अनुभुति गर्न सक्ने एनआरएनए अमेरिका बन्न सकोस् हार्दिक शुभेच्छा राख्दै त्यो वातावरण हाल नदेखिएको प्रति दु:ख व्यक्त गर्दछु, यसलाई सम्बन्धित पक्षले गम्भिरता पूर्वक लिन सकोस् । र अन्त्यमा वर्तमान अवस्थामा मैले संघको साधारण सभामा भाग लिन सक्ने अवस्था नरहेकाले मेरो उपस्थिति नरहने पनि जानकारी गराउँदछु ।
धन्यवाद । जय एनआरएनए । जय एनआरएनए, अमेरिका ।
सुनील साह
निवर्तमान अध्यक्ष
गैर आवासीय नेपाली संघ, अमेरिका ।