अमेरिकामा जारी एनआरएनए एनसीसी कप क्रिकेट : नेपाली अलस्टार सँग नेपाल ४ विकेटले पराजित
|
Getting your Trinity Audio player ready...
|
ह्युस्टन । कप्तान सन्दीप लामिछानेले सानदार वलिङ गरे पनि एनआरएनए एनसीसी कप क्रिकेटको पहिलो खेलमा नेपालले हार टार्न सकेन ।
नेपाली टिमका पूर्व खेलाडी पृथु बास्कोटाको कप्तानीमा रहेको नेपाली अलस्टार टिम सँग राष्ट्रिय टिम चार विकेटले पराजित भएको छ।
आइसिसी विश्वकप लिग २ का लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका भ्रमणमा छ । लिग २ मा नेपालले अमेरिका र ओमान सँग खेल्ने छ । त्यस अगाडि अभ्यासका लागि एनआरएनए एनसीसी कपमा नेपालले खेलेको हो।
गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाले नेपाली अल स्टार्स र नेपलीज् एसोसियसन अफ ह्युस्टन सँग समन्वय गर्दै एनआरएनए युएसए कपमा आयोजना गरेको हो ।
ह्युस्टनको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा नेपालले दिएको एक सय ९१ रनको लक्ष्य नेपाली अलस्टारले ३३ ओभर पाँच बलमा ६ विकेट खर्चदै पुरा गर्यो ।
अलस्टारका लागि भारतीय प्रिमियर लिग आइपिएलका अनुभवी विपुल शर्माले उत्कृष्ठ पारी खेलेपछि नेपाली कप्तान सन्दीपको पाँच विकेट ओझेलमा पर्यो ।
अल स्टार्सका विपुलले अर्धसतकको पारी खेले । उनले ५१ बलमा ४ चौका र २ छक्कासहित ५० रन जोडे। यस्तै गौरभ बजाज ४० रनमा अविजित रहे ।
अलस्टारको पारी संकटमा पर्न लाग्दा विपुल र गौरभले उकासेका थिए। कुनै समय अल स्टार १९ ओभरमा पाँच विकेट गुमाउदा मात्र ९६ रनको स्थितिमा थियो । तर त्यस पछि विपुल र गौरभले छैटौ विकेटका लागि ८३ रनको साझेदारी गरे। त्यो साझेदारी किशोर महतोले तोडेका थिए।
त्यसो त अलस्टारले आफैमा राम्रो शुरुवात गरेको थियो । नवौ ओभरमा पहिलो विकेट गुमाउदा अलस्टारले ५५ रन जोडेको थियो। एन्ड्रिज गौस र उदय कौलले पहिलो विकेटका लागि उत्कृष्ट साझेदारी गरे। अलस्टारको गतिलाई सन्दीपले ब्रेक लगाउन खोजेका थिए तर अन्य खेलाडीबाट अपेक्षाकृत विकेट ननिस्कदा नेपालले हार टार्न सकेन ।
सन्दीप एक्लैले पाँच विकेट लिए। ८ ओभर ४ बलमा एन्ड्रिज र उदयको साझेदारी सन्दीपले तोडेका थिए । सन्दीपले उदयलाई देव खनालबाट क्याच आउट गराएका थिए। जुन समय उदय व्यक्तिगत १३ रनमा थिए।
त्यस पछि सन्दीपले एन्ड्रिसलाई पेभिलियनको बाटो देखाएका थिए । पृथु बाँस्कोटा पनि सन्दीपकै बलमा क्याच आउट भए । नितिश कुमार र मार्टिन कैनको विकेट पनि सन्दीपकै नाममा रह्यो ।
पुरा दश ओभर वलिङ गरेका सन्दीपले १ मेडनसहित ४९ रन खर्चेका थिए।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ४५ ओभर पाँच बलमा अल आउट हुदाँ एक सय ९० रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६० रन जोडे । अविजित रहेका आरिफले ७४ बलको सामना गरेका थिए । जुन क्रममा उनले पाँच चौका हाने ।
कुशल भुर्तेल पहिलो ओभरको पहिलो बलमा पेभिलियन फर्किए पछि नै नेपाल दवावमा परेको थियो । पाँचौं विकेटका लागि आरिफ र विनोद भण्डारीले ४७ रनको साझेदारी गरे ।
नेपाली पारीमा विनोद भण्डारीले २६, करण केसीले २१, देव खनालले २० तथा रोहित पौडेल १६ रन बनाए ।
अल स्टारका स्पिनर मार्टिन कैनले सर्वाधिक ३ विकेट लिदा मोहम्मद इलायस र आदिल भाटीले २-२ विकेट आफ्नो नाममा लेखाए। विपुल शर्मा र हरम्रित सिंहले पनि १–१ विकेट लिए ।
एनआरएनए एनसीसी कपमा नेपालले दोस्रो खेल जुन चार तारिक शनिवार ह्युस्टन हरिकेन्ससँग खेल्नेछ । त्यस पछि जुन ९ तारिक देखि नेपालले आइसिसी विश्वकप लिग २ मा अमेरिका र ओमान सँग खेल्ने छ। सो खेल ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ ।
नेपालले दुबै देश सँग दुई दुई म्याच खेल्ने छ। जुन ९ मा ओमान सँग खेल्ने नेपालले ११ तारिक अमेरिका सँग खेल्ने छ। यस्तै १४ तारिक ओमान सँग र १५ तारिकमा अमेरिका सँग पुन खेल्ने छ।












