के पुटिन अस्वस्थ छन् ?
अमेरिका । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन् ।
ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती समात्दै गर्दा पुटिन अस्थिर देखिन्थे । यसलाई लिएर उनमा पार्किन्सन वा टर्मीनल क्यान्सर भएकोसमेत अनुमान गरिएको छ ।
यसअघि सार्वजनिक भएको एउटा भिडियोमा ६९ वर्षीय पुटिन टबेल समाएर खुट्टा बजारेको देखिन्छन् । सोही भिडियोलाई लिएर रुसी प्रशासन क्रेमलिनले उनको स्वास्थ्यमा समस्या आएको अनुमान गरेको सो पत्रिकाको दाबी छ ।
गत राति उनी मस्कोको क्राइस्ट द सेभियर क्याथेड्रलमा सहरका मेयर सर्गेई सोब्यानिनको साथमा थिए । त्यतिबेला पुटिनमा पार्किन्सन रोगका केही लक्षण देखिएको पत्रिकाको दाबी छ ।
उनी असहजरूपमा सरेको, जिब्रो बाहिर निकालेको र ओठ टोकेका देखिन्थे । उनले सिलिङ र भुइमा हेरेका थिए । राष्ट्रपति आफूलाई नियन्त्रण धेरै सावधान देखिन्थे । मण्डलीमा सामेल हुनबाहेक उनी अरू बोलेनन् ।
युक्रेनी सहर मारिओपोलमा घेराबन्दी गर्न रक्षामन्त्री सर्गेई सोइगुलाई आदेश दिएको केही दिनपछि उनी सार्वजनिक कार्यक्रममा देखिएका थिए ।
मस्कोले जर्मनीका ४० कूटनीतिज्ञलाई देश निकाला गर्ने
मस्कोले जर्मनीका ४० कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने भएको छ । युक्रेन द्वन्द्वमा रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने वर्लिनको ‘शत्रुतापूर्ण निर्णय’ को बदलामा मस्कोको पछिल्लो कदम आएको हो ।
रुसी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मस्कोमा जर्मनीका राजदूतलाई बोलाएर रुसमा रहेका जर्मनीका कूटनीतिक संस्थाका ४० जना कर्मचारीलाई नन ग्राटा घोषणा गर्ने जनाएको छ ।
‘रूसी कूटनीतिज्ञहरूलाई निष्कासन गर्ने जर्मन सरकारको शत्रुतापूर्ण निर्णयको सम्बन्धमा मस्कोस्थित जर्मन कूटनीतिक नियोगका प्रमुखसमक्ष कडा विरोध जनाइएको छ’, मन्त्रालयले भनेको छ ।
मन्त्रालयको निर्णयबाट कूल एक सय जर्मनी प्रभावित हुने प्राप्त विवरणहरूमा जनाइएको छ । रुसी कदम अनुमान गरे अनुसारको भए पनि न्यायोचित नभएको जर्मन विदेशमन्त्री अन्नलेना बेरबोकले बताए ।
युक्रेन युद्धमा रुस असफल भयो : अमेरिका
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसले युक्रेनका केही भागमा क्रूरता देखाएको तर आफ्नो युद्धको उद्देश्यमा असफल भएको बताएका छन् । युक्रेन भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले सो धारणा राखेका हुन् ।
उनले आइतबार किभमा राष्ट्रपति जेलेन्स्कीसँगको भेट गरेका थिए । विदेशमन्त्रीसँगै रक्षामन्त्री लोयड अस्टिन पनि युक्रेन भ्रमणमा छन् । युक्रेनले रुसी हमलाको प्रतिकार गर्न अमेरिकासँग सैन्य हतियार माग गरिरहेका बेला दुई अमेरिकी उच्च अधिकारी आइतकार युक्रेनको राजधानी किभ पुगेका थिए ।
युक्रेनी राष्ट्रपतिसँगको भेटमा रक्षामन्त्री अस्टिनले अमेरिकाले रूसलाई सैन्य रूपमा कमजोर भएको हेर्न चाहेको रक्षामन्त्री अस्टिनले बताए । पछिल्लो समयमा रुसले आफ्नो आक्रमण पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । यसअघि रुसले युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएको थियो ।
रुसको आक्रमण सुरु भएपछि यो उच्च स्तरीय अमेरिकी भ्रमण हो ।
यसैबीच, रुसी सेनाले मध्य र पश्चिमी युक्रेनमा पाँच रेलवे स्टेसनहरूमा आक्रमण गरेका छन् । मध्ययुक्रेनको ज्मेरिन्का र कोज्याटिनका स्टेसनहरूमा भएका आक्रमणमा हताहतका विवरण भने सार्वजनिक हुन बाँकी छ ।
तेस्रो विश्वयुद्धको जोखिम छ, यसलाई नजरअन्दाज नगर्नू : रुसी विदेशमन्त्री
रुसले तेस्रो विश्व युद्धको वास्तविक खतरा रहेको चेतावनी दिएकाे छ । अमेरिकाले रुसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका छन् ।
विदेशमन्त्री लाभरोभले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वकाे सरकारले वार्ताको नाटक गरेको आरोप लगाए । उनले ‘वार्तामा संलग्न भइरहेको’ पनि बताए । लाभरोभले तेस्रो विश्वयुद्धको खतरा ‘वास्तविक’ भएको चेतावनी दिँदै अगाडि भने, ‘जोखिम गम्भीर छ । यो वास्तविक हो । यसलाई नजरअन्दाज गर्न मिल्दैन ।’
वार्ताबाट युक्रेन संकट समाधान हुने संकेत गर्दै उनले अगाडि भने, ‘सम्झौतामा हस्ताक्षर गरेसँगै अवश्य पनि हरेक चिज समाप्त हुनेछ । ’ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गरिरहेका बेला लाभरोभको नयाँ चेतावनी आएको हो । भ्रमणका क्रममा उनीहरूले युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।