अमेरिकामा नेपाली कांग्रेस समर्थक बीच चर्कदो रडाको, एनआरएनएमा भद्रगोल, पार्टीको बदनाम
बिष्णु हरि घिमिरे
अमेरिका । गैर आवासिय नेपाली संघ (एनआरएनए) कठिन मोडमा पुगेको छ । औपचारिक रुपमा नै एनआरएनए फुट्यो भन्न मिल्ने अवस्था छैन तर अब एनआरएनए एक ढिक्का रहन्छ भन्नेमा शंका छ ।
‘विदेशमा सिकेको ज्ञान र शिप तथा आर्जेको पूँजी’ नेपालमा लगानी गर्ने भन्ने नाराका साथ खुलेको एनआरएनए अहिले आफ्नो संगठन आफै चलाउन नसकेर परराष्ट्र मन्त्रालय र अदालत सम्म पुगेको छ ।
सामाजिक सञ्जाल अराजक भएको छ । एकले अर्कोलाई सके सम्म खुइल्याउने अभियान चलेको छ । लाग्छ यी नेपाली आपसमा झगडा गर्नकै लागि विदेश हिडेका हुन् ।
स्थापनाको दुई दशक छुनै लाग्दा एनआरएनए अभियानलाई नै धक्का लाग्ने अवस्था आउनका मुख्य कारण व्यक्तिगत इगोले काम गरेको छ । संस्थापन पक्ष जसरी पनि पदमा टिक्ने नयाँ मान्छेलाई नेतृत्वमा आउनै नदिन उद्म छ । अर्को पक्ष पदमा नपुगि नछोड्ने अठोटमा छ ।
संस्थापक तथा पूर्व अध्यक्षहरुको आआफ्नै स्वार्थ छ । बैदेशिक जीवन छोडेर १० बर्ष देखि निरन्तर नेपालमा बस्दै आएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले अझै पनि हस्तक्षेपकारी भूमिका खोज्दै छन् ।
पूर्व अध्यक्षहरु जीवा लामिछाने र शेष घले बीच को हावी हुने भन्ने टकराब छ । वर्तमान अध्यक्ष कुमार पन्तको अपरिपक्क निर्णय अर्को प्रमुख कारण बनेको छ । शेष घले र डाक्टर बद्री केसीको टसलले पनि समस्या चर्काउन मलजल गरेको छ ।
एनआरएनए आइसीसीको विवादलाई उल्झाउनमा एनसीसी अमेरिकाको खिचातानीले पनि मलजल गरेको छ । अमेरिकामा रहेका केही व्यक्ति मध्ये ठूलो कांग्रेस को हुने र एकले अर्कोलाई देखाइदिने भन्ने होड छ ।
नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, पूर्व संयोजक बिष्णु सुवेदी, संस्थापक महासचिव कृष्ण लामिछाने, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री डाक्टर यादव पण्डित, हरिबोल भण्डारी, डाक्टर केशव पौडेल र प्रमोद सिटौलाहरु बीचको इगोमा अमेरिकाको एनआरएनए घुमेको छ ।
अर्को छुटाउनै नहुने नाम हो गौरी जोशि । जोशिले कांग्रेस सँगको साइनो आफु अनुकुल व्याख्या गर्ने गर्छन ।
जनसम्पर्क समिति विवादको साइड इफेक्ट एनआरएनएमा
नेपाली जनसम्पर्क समिति अमेरिका जन्मनै विवादित छ । जसको साइड इफेक्ट एनआरएनएमा देखिएको छ ।
जनसम्पर्क समितिको सन् २०१४ मा टेक्सासमा सम्पन्न अधिवेशनले आनन्द विष्टलाई अध्यक्ष चुन्यो । बिष्णु सुवेदी हारे । त्यसपछि यी दुई समुहको गुट उपगुटकै वरिपरि अमेरिकाको एनआरएनए घुमेको छ । अमेरिकामा कांग्रेसीहरु आफूमा मारामार गर्दा अल्पमत भएका बामपन्थी बिचार राख्नेहरु एक पछि अर्को खुड्किलो चड्दै छन् ।
प्रजातान्त्रिक पार्टीको विदेश स्थित भातृ संगठनको अधिवेशन आठ बर्ष देखि हुन सकेको छैन । सन् २०१४ यता एनआरएनएले नै पाँच अध्यक्ष पाइसक्यो तर विष्ट हिटलरकै शैलिमा पदाशिन छन् । जनसम्पर्क समितिको नेतृत्व ट्रयाकमा रहदै सबैलाई समेटन् सकेको भए परिस्थिति फरक हुन सक्थो । त्यो पाटोमा अर्को पटक चर्चा गरौला । अहिले फेरि एनआरएनएमा नै फर्कियौं ।
टेक्सास अधिवेशन पछि उत्साहित विष्ट समुह एनआरएनएमा पनि पकड जमाउन चाहान्थो । खगेन्द्र जिसी मार्फत विष्ट पक्षले एनआरएनए अमेरिका पनि कब्जा गर्ने प्रयास गरेको थियो ।
नेपाली समाज टेक्सासको निर्वाचनमा विजय भट्टराईलाई सहयोग गरेर आफुलाई हराउन खोजेको भन्दै लामिछानेले जोशिको विरोध गरेका थिए । ‘कम्युनिष्टलाई बोक्ने जोशिलाई कांग्रेसले कसरी टिकट दिन मिल्छ?’ लामिछानेको प्रश्न थियो ।
तर जिसीमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)मा एकै पटक ठूलो पद खाने लोभले विष्ट पक्षको योजना तुहियो भने बिष्णु सुवेदी समुह एनआरएनएमा हावी भयो । त्यस पछि जनसम्पर्क र एनआरएनए एक अर्काका दुश्मन जस्तै गरि अगाडि बढे ।
शिवकुमार राईले कोठामा खुम्चाएको एनआरएनए अमेरिकालाई खगेन्द्र जिसीले बाहिर निकाले । जिसीले दोस्रो कार्यकाल निरन्तरता दिन नमाने पछि विष्ट समुहले नागेन्द्र पौडेललाई बोक्यो । सुवेदी समुहले डाक्टर केशव पौडेललाई ल्यायो ।
डाक्टर केशव पौडेलले न्यूयोर्क वरपर रहेको एनआरएनएलाई अमेरिका भर फैलाए । तर एनआरएनए जति जति फैलिदै गयो त्यति नै विवाद थपिदै गयो । मुद्दा मामिला बढे ।
गौरी जोशिको विवादास्पद प्रवेस
जानकारहरुका अनुसार शुरुमा डाक्टर केशव पौडेल दोस्रो कार्यकाल दोहोर्याउन चाहादैन थिए । उनले आफैले सल्लाहाकार बानाएका गौरी जोशिलाई अध्यक्ष बनाउने प्रस्ताव गरे । धनाड्यलाई नेतृत्वमा ल्याउन डा. यादव पण्डित, बिष्णु सुवेदी र हरिबोल भण्डारी राजी भए । तर टेक्सासकै कृष्ण लामिछानेको कडा विरोध पछि सुवेदी समुहको योजना भताभुङ्ग भयो ।
नेपाली समाज टेक्सासको निर्वाचनमा विजय भट्टराईलाई सहयोग गरेर आफुलाई हराउन खोजेको भन्दै लामिछानेले जोशिको विरोध गरेका थिए । ‘कम्युनिष्टलाई बोक्ने जोशिलाई कांग्रेसले कसरी टिकट दिन मिल्छ?’ लामिछानेको प्रश्न थियो ।
उपाध्यक्षको प्रस्ताव अस्वीकार गर्दै गौरी आफै टिम बनाउन लागे । गौरीलाई विधानले नै अध्यक्ष बन्न दिदैन भनेर प्रचार गरियो । लामो बहस भयो । उनी अदालत गए । लामिछानेले जोशिको उग्र विरोध गर्न छोडेनन । जोशिको व्यापारिक पोल खोलिदिने र उल्टो मुद्दा दिने धम्की दिए । भलै कालन्तरमा उनै लामिछाने जोशि खेमा लागे र पछिल्लो पटक बुद्दि सुवेदी सँग चुनाव हारे ।
भाइफुटे गवार लुटे
डाक्टर पौडेल र जोशि बीचको दुरी बढ्दै गयो । अमेरिकामा रहेको नेपाली समाज ध्रुर्विकरण भयो । जोशि नभए एनआरएनए नै चल्दैन भन्ने समेत भए । विवाद सल्टाउनुको साटो चर्काउने धेरै भए । केही झगडा मिलाएको जस लिने होडमा लागे । अर्को थरी आर्थिक लाभको हिसाब गर्न थाले ।
त्यही समयमा कुमार पन्त इन्ट्री भयो । उनकै रोहवरमा सिकागो सम्झौता पछि जोशिले अदालतबाट मुद्दा त फिर्ता लिए तर टाडिएको मन फिर्ता हुन सकेन । कालन्तरमा डाक्टर पौडेल सँगको व्यापारी साझेदारी तोडे र अलग बाटो रोझे । परिस्थिति यति सम्म पुग्यो कि एनआरएनए आइसीसीको नेतृत्व हाक्छु भन्नेहरु जोशि र पौडेल ‘टोले गुण्डाको’ शैलिमा सार्वजनिक कार्यक्रममै हातपात गर्न उत्रिने सम्म भए ।
त्यो भन्दा रोचक सदैव आपसमा परम शत्रुको व्यवहार गर्दै आएका आनन्द विष्ट र बिष्णु सुवेदी समेत पछिल्लो समय जोशिको छत्र छाँयामा अटाएका छन् ।
यसको फाइदा आइसीसीले लियो । अमेरिकामा रहेका कांग्रेसीलाई फुटाउ र राज गर भन्नेमा आइसीसी नेतृत्व सफल भयो । घरको झगडामा आइसीसी गुहार्ने क्रम अझै रोकिको छैन ।
पौडेललाई महङ्गो बन्यो दोस्रो कार्यकाल
एनआरएनएमा एउटा उचाइ लिन डाक्टर पौडेललाई अमेरिकाको अध्यक्ष दोहोर्याउनु महङ्गो पर्यो । पहिलो त धनाड्य जोशि आफ्ना चीर प्रतिस्पर्धी बने । अर्को तर्फ आफ्नै उपाध्यक्ष रविना थापा र कृष्ण पोखरेल लगायत सँग चुनाव लड्नु पर्यो । उता अमेरिकाको अध्यक्ष हुन अयोग्य भनिएका जोशि अमेरिकाज क्षेत्रको संयोजक बने ।
जोशिले पौडेलका विरोधि र असन्तुष्टलाई समेट्दै आफ्नो समुह बलियो पार्न थाले । धन देख्दा माहादेवको तीन नेत्र भन्ने बुझेका जोशिले आफ्ना कटु विरोधि कृष्ण लामिछानेलाई साखुल्ले आफ्नो कार्यकर्ता बनाउन सफल भए ।
त्यो भन्दा रोचक सदैव आपसमा परम शत्रुको व्यवहार गर्दै आएका आनन्द विष्ट र बिष्णु सुवेदी समेत पछिल्लो समय जोशिको छत्र छाँयामा अटाएका छन् ।
विश्व सन्जाल र कोपनहेगन भेला
आनन्द विष्टले जनसमपर्क समितिको निर्वाचन नै गराएनन । राजनीति गर्न कुनै न कुनै भूमिकाको खोजिमा रहेका बिष्णु सुवेदीले विश्व सन्जालको अवधारणा ल्याए । त्यही क्रममा डेनमार्कको कोपेनहेगनमा विश्वभरी छरिएका कांग्रेसीहरुको भेला भयो ।
तत्कालिन उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र प्रवक्ता विश्वप्रकास शर्मा समेतको उपस्थितिमा भएको भेलामा एनआरएनए आइसीसीमा कांग्रेसी नेतृत्व ल्याउने छलफल भयो ।
‘एनआरएनएमा ७० प्रतिशत सदस्य कांग्रेसी हुने तर नेतृत्व सदैव कम्युनिष्टको पोल्टोमा जाने ? यो तोड्नु पर्छ ।’ त्यही क्रममा नेतृत्व लिने व्यक्तिको खोजि भयो । दृश्यमा आए तत्कालिन उपाध्यक्ष कुल आचार्य ।
जानकारहरुका अनुसार शुरुमा कुल आचार्य नेतृत्वका लागि तयार थिएनन् । अमेरिकामा रहेका कांग्रेसीको झगडाको फाइदा उठाउदै उपाध्यक्षमा निर्वाचित आचार्य पुन सोहि पद दोहोर्याउने तयारीमा थिए ।
विष्ट समुहका खगेन्द्र जिसीले दोस्रो पटक उपाध्यक्षमा उमेदवारी दिए पछि उनलाई रोक्न सुवेदी समुहले सोनाम लामालाई कांग्रेस प्रवेस गराएर उपाध्यक्षमा नै भिडाएको थियो । अमेरिकाबाट दुई उमेदवार हुदाँको फाइदा आचार्यलाई भयो । त्यो बेला सम्म आचार्य जीवा लामिछाने र कुमार पन्तकै छत्रछायामा थिए । कोपेनहेगन सम्मेलनको जोड्बल पछि मात्र आचार्य कुमार पन्त सँग भिड्न राजी भएका हुन् ।
अमृत सापकोटाको कारण सुवेदी समुहमा फाटो
जनसम्पर्कमा हारे पनि बिष्णु सुवेदी एनआरएनए अमेरिकाको राजनीतिमा केन्द्रमा नै थिए । तर डाक्टर केशव पौडेलले अमेरिकाको नेतृत्व छोड्दै गर्दा सुवेदी समुहमा फाटो आयो । पौडेलले नै एनआरएनएमा भित्राएका भनिएका सुर्य लम्शाल, सुनिल शाह प्रतिस्पर्धी बने । बामपन्थीहरुको तर्फबाट सन्जय थापा मैदानमा उत्रिए ।
बरिष्ठ उपाध्यक्षको कारण सुवेदी समुह चोइटियो । हरिबोल भण्डारी र प्रमोद सिटौलाले अमृत सापकोटालाई बोके । दुई डाक्टर पण्डित र पौडेल अर्का डाक्टर अर्जुन बञ्जाडेको पक्षमा देखिए । ‘पण्डित राजनीतिका खेलाडी नै हुन हामीले यस पटक सकेनौ तर यसको हिसाव आइसीसीमा हुन्छ ।’ सापकोटा हारे पछि प्रमोद सिटौलाले स्टाटस लेखेका मात्र होइनन आइसीसीमा बदला नै लिए ।
सुर्य मुखिको आरोप ?
संयोग आइसीसी अध्यक्षमा कुल आचार्य र उपाध्यक्षमा केशव पौडेल हारे । बिष्णु सुवेदी, हरिबोल भण्डारी र प्रमोद सिटौलाले धोका दिएको भन्दै डाक्टरहरुले कित्ता काट गरे । कुल आचार्य समुहको मूख्य व्यक्ति को हुने भन्ने होडमा पण्डित, सुवेदी र भण्डारीमा मतान्तर बढ्दा उनीहरु एकै समुहमा रहन सकेनन ।
कांग्रेस भएर कांग्रसी उमेदवार हराउन लागेको भन्दै सुर्य मुखि शब्द चर्चामा ल्याइयो ।
उनका सहकर्मीहरु प्रमोद सिटौलालाई महाभारतको सकुनी पात्रको रुपमा चित्रण गर्छन् । हुन पनि उनका क्रियाकलाप समुह मिलाउने भन्दा पनि भड्काउने खालको हुन्छ । ‘एक दुई जनालाई लडाइएन भने त निन्द्रै लाग्दैन ।’ भन्ने गरेको उनलाई चिन्नेले सुनाउछन् ।
जनसम्पर्क समितिको टेक्सास अधिवेशनमा बिष्णु सुवेदी हार्नुको मुख्य कारण प्रमोद सिटौलाको रवैया हो भनेर ठोकुवा गर्नेहरु अमेरिका अझै प्रशस्त भेटिन्छन । ‘आर्थिक मामलामा सिटौलालाई शंका गर्नु पर्ने ठाँउ छैन तर आफ्नै साथीहरु भिडाएर रमाइलो मान्ने उनको बानी छ ।’ सहकर्मी सुनाउछन् ।
शुरुमा ‘यस पटकको एनआरएनए निर्वाचनमा कांग्रेसले कब्जा गर्नु पर्छ’ भनेर स्टाटस लेखेका सिटौलाले अन्तमा कुमार पन्तलाई भोट हालेको आरोप छ ।
यस पटक पनि सिटौला माथि आन्तरिक बैठकमा डाक्टर बद्री केसी समुहको रणनितिकार हुने तर बाहिर रविना थापाको प्रचारमा रहेको आरोप छ । बद्री केसीलाई जिताउन रविनालाई डमि उमेदवार बनाइएको हो भन्ने एक पक्षको भनाई छ । तर सिटौला दुबै आरोप मान्न तयार छैनन् ।
टिमलाई सन्तुलित गर्दै सबैलाई समेटन नसक्नु तथा विरोधिलाई निर्मम प्रहार गर्ने शैलि डाक्टरहरुकै लागि धातक बन्दै गएको छ ।
जसलाई बोक्यो उही विच्कियो
अर्को गज्जव संयोग पनि हो । डाक्टरद्वय पण्डित र पौडेलले जसलाई बोक्यो अन्नत उही चरम विरोधि भएर निस्किएका छन् ।
शुरुमा गौरी जोशिलाई डाक्टरले सल्लाहाकार राखे, अध्यक्ष बनाउन खोजे तर अहिले पानी बाराबार छ । कृष्ण लामिछाने जसको कारण जोशि सँग डाक्टरहरुको सम्वन्ध विग्रियो अहिले तिनै लामिछाने जोशि तर्फ लागेर डाक्टरहरुको खेदो खन्दै छन् ।
अर्जुन बज्जाडे जसको कारण बिष्णु सुवेदी समुह फुट्यो उनी पनि अहिले दुई डाक्टरको कित्तामा छैनन । बरु भलै अमृत सापकोटा डाक्टरहरुको खुलेर समर्थक बनेका छन् । सुनिल शाह आफै रनभूल्लमा छन् । कृष्णजिवि पन्तलाई टिममा राखेर उपाध्यक्षमा जिताए तर केन्द्रमा कुमार पन्तको भोटर बनेर फर्किए ।
टिमलाई सन्तुलित गर्दै सबैलाई समेटन नसक्नु तथा विरोधिलाई निर्मम प्रहार गर्ने शैलि डाक्टरहरुकै लागि धातक बन्दै गएको छ ।
यति सम्म कि बिष्णु सुवेदी र उनीहरु एकै समुहमा रहदा जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट र महासचिव मुनिन्द्र नेमाङलाई एनआरएनएको प्रतिनिधि समेत बनाएनन् ।
रविनाको उमेदवारीले बद्री समुहमा उत्साह
कुल आचार्य र डाक्टर केशव पौडेल सहितको कांग्रेस तर्फको ठूलो समुहले प्रतिनिधि छनौटको बैधानिकतामा प्रश्न उठाएर निर्वाचन प्रक्रिया बाहिस्कार गर्दै गर्दा कांग्रेस भित्रकै केही व्यक्तिले रविना थापालाई अध्यक्षको रुपमा अगाडि सारेको छ ।
आश्चर्य कुरा के भने रविनाको उमेदवारीलाई डाक्टर बद्री केसी समुहले उत्साजनक रुपमा प्रचार प्रसार गरेको छ । सामान्यतय चुनावमा विपक्षि उमेदवारलाई कमजोर देखाउने, खोट लगाउने गरिन्छ । तर केसी समुहकै व्यक्ति रविनाको प्रचारमा लागेका छन् ।
‘कुल आचार्य समुह चुनावमा आए कांग्रेसकै भोट काट्ने, आचार्यले बहिस्कार गरे सिङ्गो कांग्रेसले त बहिस्कार गरेको छैन नी’ भन्ने सन्देश जाने भएकाले बद्री समुहकै रणनीतिमा रविनाको उमेदवारी आएको हो भन्ने आरोप छ । त्यसको पुष्टि समयले गर्ने छ ।
निश्कर्ष
सबै भन्दा धेरै सदस्य भएको मुलुक भएर पनि अमेरिका एनआरएनए आइसीसीमा नेतृत्व दिन चुक्दै आएको छ । अमेरिकामा रहेका कांग्रेसीहरु बीचको प्रतिशोधको शिकार यस अगाडि खगेन्द्र जिसी भइसकेका छन् । रविना थापाको उमेदवारी किन पछि खुल्दै जाला ।
तर डाक्टर केशव पौडेल र गौरी जोशिले सहकार्य गरेको भए दुबै जना आलोपालो आइसीसी अध्यक्ष हुन लायक हुन र सम्भव पनि थियो । अमेरिकामा रहेको नेपाली समाज यो हद सम्म विभाजित हुने थिएन । दुर्भाग्य एकले अर्कोलाई प्रतिस्पर्धी देखे । दुबैका लागि अबको यात्रा झन् झन् कठिन छ । उनीहरुले आपसमा पाखुरा सुर्कदा विचौलियाले खेल्ने ठाँउ प्रशस्त पाए । केहीलाई कमाउने माध्यम पनि भएको छ । अमेरिकालाई फुटाएर नेतृत्वमा आउन नदिनेहरु सफल हुने छन् ।
आनन्द विष्ट, डाक्टर यादव पण्डित,बिष्णु सुवेदी र हरिबोल भण्डारीको आपसमा छिर्की हान्दै को ठूलो कांग्रेस बन्ने र आफुलाई शक्ति केन्द्र कसरी देखाउने भन्ने होडले पनि जोशि र पौडेलको टकराव बढ्यो । प्रमोद सिटौला र कृष्ण लामिछाने प्रवृति अर्को पाटो रह्यो ।
कांग्रेसीहरुको घोचपेच र रडाको झन बढ्दो छ । अरु अर्को पार्टीको विजयी होस आफ्नैलाई रोक्ने धातक खेल खेलिदै छ । यो रमिताले अमेरिकामा रहेको नेपाली समाज र नेपाली कांग्रेस बदनाम हुदै गएको छ । त्यो भन्दा ठूलो एनआरएनए अभियान अलपत्र गरेको छ ।