एनआरएनएको विभाजन रोक्न आफु सक्रिय भएको शेष घलेको दावी

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजन हुने अवस्थामा पुगेपछि संस्थाको रक्षाका लागि आफुले कदम चाल्नु परेको प्रमुख संरक्षक शेष घलेले दावी गरेका छन् ।
प्रतिनिधि सम्वन्धमा संस्थापनको एकपक्षीय हर्कतले संस्थामा विवाद आएकोले विधान अनुसार नै आफु सक्रिय भएको उनको भनाई छ । ‘विभाजनको जोखिम टार्न प्रमुख संरक्षकलाई विधानले दिएको अधिकार प्रयोग गर्दै नयाँ निर्वाचन प्रक्रिया थालनी गरेको हु ।’
प्रतिनिधि विवाद समाधानका लागि संघको कार्यसमितिद्वारा गठित उच्चस्तरीय समितिले काम गरिरहेको बेला अध्यक्ष कुमार पन्तले एकलौटी रुपमा निर्वाचनको प्रक्रिया अगाडि बढाउनु गलत भएको पनि घलेको भनाई छ ।
आइसीसीको पछिल्लो बैठक अल्पमतमा रहको र त्यो निर्णय बैधानिक नहुने घलेको दावी छ ।
प्रमुख संरक्षक घलेले शुक्रबार निर्वाचन र महाधिवेशनसँग सम्बन्धित नयाँ प्रक्रिया सुरु गरेका थिए । बहुमत राष्ट्रिय समन्वय परिषद् (एसीसी) को राय अनुसार आफु अगाडि बढेको घलेको दावी छ ।
केही दिनअघि सम्पन्न एनसीसीहरूको बैठकले घलेलाई संघको विधानअनुसार अधिवेशन सम्पन्न गर्न अनुरोध गरेको थियो । सोहीअनुसार घलेले दसौं महाधिवेशन तयारीका लागि संघकै उपाध्यक्ष सोनाम लामा संयोजक र अर्का उपाध्यक्ष मन केसी सहसंयोजक रहेको महाधिवेशन तयारी समिति गठन गरेका थिए । उनले निर्वाचन समिति पनि पुनर्गठन गरेका छन् ।
संघको विधान २००३ (२०२१ संशोधनसहित) को धारा १६।१।४ को हवला दिदै प्रमुख संरक्षक घलेले निर्वाचन समिति पुनर्गठन र अधिवेशन तयारी समिति गठन गरेको दावी गरेका छन् ।
जसअनुसार निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) लाई मनोनयन गरिएको छ । घलेले दसौं अधिवेशन २२ देखि २५ मार्चसम्म काठमाडौंमा आयोजना हुने गरी मिति तोकेका छन् ।
संघको विधानअनुसार गत २३-२५ अक्टोबरमा अधिवेशनको तयारी गरिए पनि प्रतिनिधि छनोटको प्रक्रियागत विवादका कारण अधिवेशन स्थगित भएको थियो ।
त्यसपछि पनि पटक पटक निर्वाचनको कार्यतालिका परिवर्तन हुदै आएको थियो । संस्थापन पक्षले अहिले निर्वाचन प्रक्रिया सुरु गरेको छ तर एक समुह निर्वाचन प्रक्रियामा सहभागि छैन ।