एनआरएनए अमेरिकाबाट नयाँ प्रतिनिधि पठाउन कृष्ण लामिछानेको माग
अमेरिका । कृष्ण लामिछानेले गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाबाट सबै नयाँ प्रतिनिधि छनौट गर्न माग गरेका छन् । लामिछाने एनआरएनए अमेरिकाको निर्वाचनमा दोस्रो भएका व्यक्ति हुन् ।
शुक्रवार विज्ञप्ति प्रकाशन गर्दै लामिछानेले संघको वर्तमान अध्यक्ष बुद्धी सुवेदी समूहले सिफारिस गरेका ६५ प्रतिशत अन्तरर्गतका प्रतिनिधिहरु मध्ये २८ जना अवैधानिक भएको आरोप लगाएका छन् ।
‘अवैधानिक रुपमा सिफारिसमा परेका सम्पूर्ण प्रतिनिधिहरुलाई तत्काल महाधिवेशन प्रतिनिधिको नामावलीबाट हटाएर विधान बमोजिम नयां प्रतिनिधि छनोट गर्न माग गर्दछु ।’ विज्ञप्तिमा लामिछानेले भनेका छन् ।
उनले २५ प्रतिशत अन्तरर्गतको संघको विधान अनुरुप निर्वाचन मार्फत चयन हुनु पर्ने व्यवस्था विपरित वर्तमान सुवेदी समूहले मनोपली रुपमा ४७ जना प्रतिनिधिको नाम केन्द्रमा पठाएर एनआरएनए अमेरिका पन्जिकृत सदस्यहरुको भावनालाई कुल्चिने काम गरेको समेत दावी गरेका छन् ।
लामिछानेले आइसीसीको पछिल्लो निर्णयको पनि विरोध गरेका छन् । ‘प्रतिनिधि विवाद मिलाउन संघको उच्चस्तरीय समितिले वर्तमान कार्यसमितिको अध्यक्ष र निवर्तमान अध्यक्षलाई जिम्मा दिने निर्णय पूर्णरुप अवैधानिक र अमेरिकास्थित नेपाली समुदायबीच फाटो ल्याउने प्रपन्च भएको हुदाँ तत्काल सो निर्णय खारेजीको माग गर्दछु ।’
लामिछानेको विज्ञप्ति आइसीसीले दिएको तीन दिने अल्टिमेटन सकिए पछि आएको हो । आइसीले वर्तमान तथा निवर्तवान अध्यक्षको समहमतिमा नयाँ प्रतिनिधको नाम पठाउन निर्देशन दिएको भए पनि अमेरिकाबाट समहमतिमा नयाँ नाम जान सकेको छैन ।
लामिछानेको विज्ञप्तिको पूर्ण पाठ
विज्ञप्ति
गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन प्रतिनिधि विवाद मिलाउन संघका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिले हालै गरेको निर्णय प्रति मेरो ध्यानार्कषण भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको वर्तमान कार्यसमितिले संघको विधि र विधान विपरित महाधिवेशन प्रतिनिधि छनोट गरे पछि संघको निर्वाचनमा भाग लिने प्रतिनिधिहरुको विवाद सृजना भएको सर्वविधितनै छ । संघको वर्तमान अध्यक्ष बुद्धी सुवेदी समूहले सिफारीश गरेका ६५ प्रतिशत अन्तरर्गतका प्रतिनिधिहरु मध्ये २८ जना अवैधानिक छन् । संघको विधानले ६५ प्रतिशतबाट प्रतिनिधि हुन संघको पूर्वपदाधिकारी हुनु अनिवार्य व्यवस्था गरेकोमा ती प्रतिनिधिहरु यसअघि संघको कुनै पनि निकायमा काम नगरेको प्रष्ट हुदाँ स्वतः ती प्रतिनिधिहरु अवैधानिक हुन् ।
अवैधानिक रुपमा सिफारीशमा परेका सम्पूर्ण प्रतिनिधिहरुलाई तत्काल महाधिवेशन प्रतिनिधिको नामावलीबाट हटाएर विधान बमोजिम नयां प्रतिनिधि छनोट गर्न माग गर्दछु ।
यस्तै, २५ प्रतिशत अन्तरर्गतको संघको विधान अनुरुप निर्वाचन मार्फत चयन हुनु पर्ने व्यवस्था विपरित वर्तमान सुवेदी समूहले मनोपली रुपमा ४७ जना प्रतिनिधिको नाम केन्द्रमा पठाएर गैरआवासीय नेपाली संघ अमेरिका पन्जिकृत सदस्यहरुको भावनालाई कुल्चिने काम गरेको छ ।
गैरआवासीय नेपाली संघको निर्णय अनुसार ती प्रतिनिधि छनोटमा आम सहमति वा निर्वाचन हुनु पर्नेमा एकलौटी रुपमा छानिएका प्रतिनिधि तत्काल खारेजीको माग गर्दछु ।
यस्तै, प्रतिनिधि विवाद मिलाउन संघको उच्चस्तरीय समितिले वर्तमान कार्यसमितिको अध्यक्ष र निवर्तमान अध्यक्षलाई जिम्मा दिने निर्णय पूर्णरुप अवैधानिक र अमेरिकास्थित नेपाली समुदायबीच फाटो ल्याउने प्रपन्च भएको हुदाँ तत्काल सो निर्णय खारेजीको माग गर्दछु ।
गैरआवासीय नेपाली संघको अमेरिकाको निर्वाचनमा वर्तमान बुद्धी सुवेदी समूहले प्राप्त गरेको जम्मा ३३ प्रतिशत मतको कदर गर्दै बाँकी बाहिर रहेको ६७ प्रतिशत मतदाताको भावना विपरित प्रतिनिधि चयन गराईमा त्यस्तो निर्णय अमान्य हुने समेत जानकारी दिन चाहन्छु ।
साथै, संघका पूर्व तथा वर्तमान अध्यक्षहरु रहेको उच्चस्तरीय समितिले महाधिवेशन प्रतिनिधि विवादलाई तन्काएर संघको केन्द्रीय निर्वाचनलाई अवरोध गर्ने खेलप्रति दुःख व्यक्त गर्दै तत्काल संघको निर्वाचन तालिका घोषणा गर्न आग्रह गर्दछु ।
कृष्ण लामिछाने
अध्यक्ष (प्रत्यासी)
गैरआवासीय नेपाली संघ, अमेरिका – २०२१
८ फेब्रुअरी, २०२२















