फेब्रुअरी २८ मा एनआरएनएको निर्वाचन हुन्छ : डा.बद्री केसी, अध्यक्षका उमेदवार

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) को निर्वाचन फेब्रअरी २८ मा भएरै छाड्ने दावी डाक्टर बद्री केसी समुहले गरेको छ ।
एनआरएनए विवादमा विकसित घटनाबारेमा घारणा राख्न समुहले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा आइसीसीका उपाध्यक्ष केसीले अब पनि निर्वाचन हुदैन की भनेर शंका नगर्न आग्रह गरे ।
आसन्न निर्वाचनमा अध्यक्षका उमेदवार समेत रहेका केसीले भने,’सात सदस्यीय उच्चस्तरीय समितिलाई निकास नदिने छुट छैन, शंका नगरौ, २८ फेब्रुअरीमा निर्वाचन हुन्छ ।’
उनले आइसीसीद्वारा यस अगाडि नै गठित निर्वाचन समितिले नै निर्वाचन गराउने बताए ।’आइसीसीले गठन गरेको निर्वाचन कमिटी अहिले पनि संक्रिय छ, बैधानिक कमिटीले गराएको चुनावबाट भाग्दैनौ ।’
आफ्ना पक्षका प्राय सबै उमेदवारको उपस्थितिमा भर्चुल मार्फत आयोजित पत्रकार सम्मेलनमा डाक्टर केसीले सबैलाई अब चुनावको तयारी गर्न समेत आग्रह गरे ।
उनले विवाद समाधानका लागि विधान बाट बाहिर जान नहुने दोहोर्याए । तर विद्यार्थीलाई सदस्यता दिएको बारेमा यस पटक सहमति गर्नु पर्ने बताए ।
‘विधान भन्दा बाहिर जान हुँदैन भन्ने नै हो तर यस पटकलाई यस्तै भयो अर्को पटक विद्यार्थीलाई सदस्य नबनाउने गरि सहमति गर्नु पर्छ ।’
डाक्टर केसीले सात सदस्यीय उच्चस्तरिय समिति अन्तर्गत कार्यदलले बुझाएको प्रतिवेदन अनुसार २५ प्रतिशत प्रतिनिध खारेज गरेर जानु पर्नेमा पनि जोड दिए ।