“भातृ सङ्गठनको महाधिवेशन सम्पन्न गर्न पार्टीमा छलफल भई रहेको छ” महामन्त्री शर्मा

काठमाडौँ /नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघ लगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टी भित्र छलफल भइरहेको जानकारी दिएका छन् ।
महामन्त्री शर्माले नेविसंघ लगायतका भातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको पनि बताए । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेताहरूसँग कुरा गर्दै शर्माले भातृ संस्थाहरूमा देखिएको समस्या समाधानका लागि प्रक्रिया समेत अघि बढाइएको बताएका हुन् ।
नेविसंघका पूर्व अध्यक्ष समेत रहेका शर्माले मुलुकको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघ जस्ता सङ्गठनहरू बलियो हुनुपर्नेमा आफूहरू सचेत रहेको पनि बताए ।
महामन्त्री शर्माले विद्यार्थी नेताको मुद्दामा छलफल भई रहेको जनाए । महामन्त्री शर्माले आफू बोलेर भन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको बताए ।