चाँडो निर्वाचन गर्न देउवालाई कोइरालाको दबाब

Getting your Trinity Audio player ready...
|
विराटनगर/ नेपाली काँग्रेसको संस्थापन इतर पक्षले संस्थापन पक्षलाई आगामी वैशाखमै स्थानीय निकायको निर्वाचन गर्न दबाब दिन थालेको छ । काँग्रेस निकट श्रोतका अनुसार संस्थापन इतर पक्षले वैशाखमै स्थानीय निकायको निर्वाचन गर्न दबाब दिनुका साथै निर्वाचनमा काँग्रेस एक्लै चुनाव लड्नु पर्नेमा दबाब दिन थालेका छन् ।
पार्टी सभापतिमा पराजित डा. शेखर कोइराला र महामन्त्री गगन थापाले त सार्वजनिक रूपमै एक्लै चुनाव लड्नु पर्ने धारणा राखी सकेका छन् । आइतबार कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए ।
नेता कोइरालाले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने बताउँदै ऐन कानुन परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गरे। उनले भने, ‘गठबन्धन दल सँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ ।’केन्द्रीय सदस्य डा कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न नेतृत्वलाई सुझाव पनि दिए।
उनले प्रदेश १ को नामकरण दलको सहमतिमा हुनुपर्ने भन्दै खर्च बढ्ने गरी मन्त्रालय टुक्र्याउने र मन्त्रीको सङ्ख्या बढाउने कुराले सुशासनमा असर पर्ने धारणा राखे ।देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकारले आफ्नो सरकार विस्तार गर्नुपर्ने र प्रदेश सरकार पारदर्शी, जबाफदेही र उत्तरदायी हुनुपर्ने बताए ।