पोखरा रंगशालमा १७ बर्ष पछि दोहोरिएको यो दुर्लभ दृश्य

अमेरिका । उही व्यक्ति, उही ट्रफी, उही रंगशाला, तर फरक छ त १७ बर्ष लामो अन्तराल । नेपाली फुटबलका कुशल व्यक्ति कुमार थापा । जो यो दुर्लभ दृश्यको मुख्य पात्र हुन् ।
हो १७ बर्षको प्रतिक्षा पछि कुमार थापाले फेरि त्यो ट्रफी चुमे । तर फरक क्लब र फरक भूमिकामा । चालिसको दशक देखि नेपाली फुटबलमा उम्दा रहदै आएको क्लब हो मनाङ्ग मर्याङ्गदी ।
स्थापनाकै बर्ष देखि सबै डिभिजनको लिग च्याम्पियन हुदै नेपाली फुटबलमा पर्यावाचि भनेको हिमाल पारीका मनाङ्गेहरुले लगानी गरेको यो क्लवले २०६० सालमा उधुम नै मच्चाएको थियो । त्यो बर्ष मुलुकमा भएका सबै प्रतियोगिताको उपाधिमा मनाङ्गले अरुलाई नजिकै आउन दिएन ।

२०६० सालमा मनाङ्गले एकै बर्ष पाँच प्रतियोगिताको उपाधि जित्दाका कप्तान थिए कुमार थापा । मनाङ्गले लगातार दोस्रो वर्ष २०६१ पनि रारा आहा गोल्डकप जित्यो । त्यो बेला पनि कुमार थापा नै मनाङ्गको कप्तान थिए ।
२०६१ सालमा मनाङ्गले उपाधि जित्दा कुमारले ट्रफी चुम्ने अवसर पाएका थिए । तर शनिवार मनाङ्गलाई हराउदा कुमारलाई यो अवसर मिल्यो ।


२०६१ सालमा नै कुमारले उनका समर्थकका लागि स्तब्ध हुने निर्णय लिएका थिए । त्यही समयमा नेपाली फुटबल खेलाडीमा सबै भन्दा धेरै पढेका कुमार (कानुनमा स्नातक) मनाङ्ग सँगको साइनोमा बिट मार्दै भर्खर खुलेको सशस्त्र प्रहरी बलको एपीएफमा आवद्द भए ।
शिक्षित, प्रष्ट बोल्ने कुमार समकालिन नेपाली फुटबलका उम्दा हुन । मध्यपंक्तिमा कुमारलाई माथ गर्ने अर्को खेलाडी नेपाली फुटबलले अहिले सम्म पाएको छैन । उनको खेल हेरेका पारखि अहिले पनि चर्चा गर्छन् ।
तर सशस्त्र गए पछि कुमारले मनाङ्गमा जस्तो खेल पस्कन सकेनन् । सशस्त्रमा सोझै इन्सपेक्टरमा भर्ति भएका कुमार कयौं बर्ष विभागिय करियरको तालिमहरुमा व्यस्थ भए । त्यही बीचमा कुमारले फुटबलमा थप अध्ययन गर्ने अवसर पाए । युरोप, अमेरिकामा नै पुगेर फुटबल व्यवस्थापनबारे उनले पढे ।
यसै बर्ष देखि कुमारलाई सशस्त्रले आफ्नो क्बलको प्रशिक्षकको जिम्मेवारी दियो । विभागिय टिम भएर पनि प्राय बर्षका लिगमा सशस्त्र रेलिगेशनबाट बच्न नै संघर्ष गर्ने टिममा पर्दछ ।
यस पटकको लिगका शुरुवाती तीन खेल लागातार हारे पछि सशस्त्र मात्र होइन कुमारको प्रशिक्षक करिअर नै धराप तर्फ धकेलिएको थियो । क्लब संकटमा पर्न थाले पछि एएफसी ए लाइसेन्स पाएको सशस्त्रले पनि केही विदेशी खेलाडी टिममा भित्रायो । त्यस पछि सशस्त्रले हार्न जानेको छैन ।
लिगमा लगातार पाँच खेलमा अपराजित सशस्त्रले रारा आहा गोल्ड कपको उपाधि जित्ने क्रममा चार खेलमा अपराजित रह्यो ।
टेलिफोन कुराकानीमा निकै उत्साहित कुमारले अब बाँकी रहेका खेल पनि नहारी लिग टुङ्गाउने लक्ष्य रहेको बताए ।
‘यो जितले मेरा लागि मात्र होइन क्लबका लागि पनि ठूलो अर्थ लाग्छ ।’ समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा कुमारले भने । ‘कहिले काँही यस्ता संयोग पनि मिल्दो रहेछ, १७ बर्ष पछि फेरि उही ट्रफी चुम्न पाउदा खुसी छु ।’ त्यसो त यो १७ बर्षको बीचमा कुमारले अन्य ट्रफि पनि चुम्न भने पाएका थिएनन् ।
२०६१ सालमा रारा आहाको ट्रफि चुमे पछि खेलाडीको रुपमा कुमारको लय खस्कियो । अब अहिले प्रशिक्षक रुपमा ट्रफि चुमे पछि ? कुमारले भने ‘मैले यसलाई गुड लककै रुपमा लिएको छु, यसले मलाई हौसाएको पनि छ ।’
रारा आहा गोल्ड कप र पोखरा रंगशालामा देखिने दुर्लभ यो दृश्यको सबै भन्दाका नजिकका साक्षि फोटोपत्रकार सुदर्शन रन्जित हुन् । कुमार थापाले ट्रफी चुमेको दुबै फोटो रन्जितले खिचेका हुन् ।
(सबै फोटो सुदर्शन रन्जित )