एनआरएनए विवाद : शेष घले टिमलाई दश दिनको म्यादथप

Getting your Trinity Audio player ready...
|
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद सल्टाएर निर्वाचनको वातावरण बनाउने जिम्मा पाएको एनआरएनए संरक्षक शेष घलेको टोलीले दश दिनको म्याद थप पाएको छ ।
जनवरी १५ मा गठित समितिले २६ सम्म प्रतिनिधिहरुको नामावली प्रकाशन गर्ने जिम्म्वारी पाएको थियो । तर नामावलि प्रकाशन गर्ने अन्तिम दिन समितिको म्याद दश दिन थपिएको जनाइएको छ ।
एनआरएनएले आधिकारिक रुपमा निर्णय सार्वजनिक गरेको छैन । एनआरएनए आइसीसीका सचिव गौरि जोशिले म्याद थप गरिएको पुष्टि गरेका छन् । ‘समय नपुगेको कारण म्याद थपिएको हो अरु कुरा आउन बाँकी नै छ ।’ समाज टाइम्स सँगको कुराकानीमा जोशिले भने ।
संस्थापन र संस्थापन इतर दुबै पक्ष सहमतिमा पुगे पछि यस अगाडि जनवरी १५ मा कुमार पन्तको अध्यक्षतामा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।
संस्थाका सबै पूर्व अध्यक्षहरु सदस्य रहेको समितिलाई एनआरएनएको आगामी नेतृत्व चयनका लागि निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन र महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न जिम्मा दिइएको थियो ।
समितिका सदस्यहरुमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षक तथा पूर्व अध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट र राम प्रताप थापा तथा वर्तमान अध्यक्ष कुमार पन्त छन् । समितिले संघको विधान अनुरुप २६ जनवरी २०२२ सम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरि संघका अध्यक्ष कुमार पन्तमार्फत निर्वाचन समिति समक्ष पेश गर्ने भनिएको थियो ।
यस्तै बैठकले फेब्रुअरी २८, २०२२ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचन गर्ने निर्णय समेत गरेको छ ।