रामचन्द्रको नयाँ ग्राफिक नोभेल ‘जस्टिस’ किकस्टार्टरमा

Getting your Trinity Audio player ready...
|
अमेरिका । किकस्टार्टर क्याम्पेनको मूल उद्देश्य अन्तर्राष्ट्रिय पुस्तक प्रकाशनमा एक फरक मोडेलको रूपमा परिचित ‘क्राउडफन्डिङ्ग’ विधि मार्फत् पुस्तक छापेर वितरण गर्नु रहेकॊ छ ।
‘किकस्टार्टर’ सृजनशील कार्यहरूको लागि ख्यातिप्राप्त प्लेटफर्म हो भने ‘ग्राफिक नोभेल’ अमेरिकी प्रकाशन बजारमा चलेको विधा हो । नेपाली माओवादी द्वन्द्वमा आधारित ‘जस्टिस’ द्वन्द्वका कारण उठीबास लाग्न पुगेको एक किशोरी र उनको परिवारको कथा हो ।
ग्राफिक नोभेल
रामचन्द्र खत्रीले आफ्नो नयाँ ग्राफिक नोभेल ‘जस्टिस’का लागि जनवरी २८ देखि किकस्टार्टरमा ‘क्राउडफन्डिङ्ग’ क्याम्पेन’ सुरु हुने जनाएका छन् । एक महिनासम्म चल्ने यो क्याम्पेन नेपाली द्वन्द्वकथामा आधारित ग्राफिक नोभेल छपाएर वितरण गर्नका लागि रकम उठाउने उद्देश्यका साथ सुरु गरिएको हो ।
सन् १९९६ देखि एक दशकसम्म नेपालमा चलेको माओवादी द्वन्द्वकालको घटनामा आधारित कथा हो ‘जस्टिस’ । ग्राफिक नोभेल एक किशोरी र उनको परिवारले न्यायप्राप्तिका लागि गरेको सङ्घर्षमा आधारित छ ।
के छ जस्टिसमा र यो क्याम्पेन किन?
एक दुर्गम गाउँमा बस्ने तारा अनि उनको परिवार माओवादी छापामार र पुलिस प्रशाशनको दोहोरो चेपुवामा पर्दछन् ।
माओवादीलाई खान-बस्न दिएको आरोपमा उनीहरू पुलिस प्रसाशनको तारो बन्न पुग्दछन् भने व्यक्तिगत रिसइवी र परिवारको एकल छोरालाई जनयुद्धमा नपठाएको भन्दै उनीहरू तत्कालीन माओवादी विद्रोहीको समेत निशानामा पर्दछन् ।
अन्ततः परिवारको उक्त सदस्य एकाएक बेपत्ता हुन पुग्दछ र कथाको अन्त्यसम्म उसको अवस्था अज्ञात रहन्छ । परिवारको सदस्य वेबत्ता भएकै अवस्थामा ताराको परिवार घर छाड्न वाध्य हुन्छ । केही वर्षपछि तारा एक्लै घर फर्कंदा उनमा आएका संस्मरणहरूको सेरोफेरोमा उपन्यास लेखिएको छ । रामचन्द्रका अनुसार बेपत्ता परिवारको सदस्यको लागि गरिएको सङ्घर्ष र खोजी नै कथाको मूल विषय रहेको छ । “द्वन्द्वकालमा भएका हजारौं घटनाहरूको एक प्रतिनिधि उदाहरण हो जस्टिस,” रामचन्द्र भन्दछन् । जम्मा १२० पृष्ठको यो ग्राफिक नोभेलमा ३ भाग रहेका छन् भने यो क्याम्पेन पहिलो भागमा केन्द्रित हुनेछ ।
ग्राफिक नोभेलका लेखक तथा क्याम्पेनका प्रोजेक्ट म्यानेजर समेत रहेका रामचन्द्रको भनाइअनुसार ‘डाइभर्स स्टोरीटेलिङ्ग’का लागि प्रख्यात प्लेटफार्म किकस्टार्टरमार्फत् ठुला प्रकाशकका आँखामा नपरेका लाखौँ लेखकहरूले आफ्ना सफल क्राउडफन्डिङ्ग क्याम्पेन पूरा गरिसकेका छन् ।
“पुस्तकलाई प्रकाशनको तहदेखि नै बजारीकरण गर्ने एउटा प्रगोगात्मक विधि पनि हो यो । यसलाई प्रि-अर्डर क्याम्पेन भने पनि हुन्छ,” रामचन्द्र भन्दछन्, “अमेरिकी गृह-युद्धका कथा आज पनि लेखिन्छन्, धेरै कोणबाट । र, ती ‘बेस्टसेलर’ पनि हुन्छन् । नेपाली द्वन्द्वकथाको यो प्रतिनिधि कथामा काम गर्नुको मुख्य उद्देश्य संसारभर रहेका आम पाठकसामु नेपाली साहित्यमा पनि पढ्नलायकका कथा र विषयवस्तु छन् भनी देखाउनु हो ।” किकस्टार्टर क्याम्पेनको यु ट्युब भिडियो यहाँ गएर हेर्न सकिनेछ ।
सर्वविदित् मानवीय चुनौतीहरूको अन्वेषण: पल लेभिट
ग्राफिक नोभेलका लागि संदिपन सन्त्रा चित्रकार, व्लेक होना डेभलपमेन्टल एडिटर, रेचेल स्लेमन कपि एडिटर र सहब खान लेटरर रहेका छन् । युनिभर्सिटी अफ क्यालिफोर्नियाका सह-प्राध्यापक तारा सिग्देलका अनुसार जस्टिस नेपाली द्वन्द्वकालको इतिहासलाई चियाउने एउटा झ्याल हो । “एउटा कुरूप द्वन्द्वको सुन्दर चित्रण हो जस्टिस,” उनी भन्छन् । त्यस्तै अमेरिकी ग्राफिक नोभेल लेखक, सम्पादक र डिसी कमिक्सका पूर्वअध्यक्ष पल लेभिटका अनुसार जस्टिस “फरक तथा भिन्न पृष्ठभूमिमा घटेका अति नै सर्वविदित् मानवीय चुनौतीहरूको एउटा अन्वेषण हो (कम्तिमा अमेरिकी पाठकहरूका लागि) ।” ग्राफिक नोभेलका लागि तयार हुँदै गरेका केही ड्राफ्ट चित्रहरू भिडियोमा पनि हेर्न सक्नु हुन्छ ।