अमेरिकामा खुल्यो नेपालीहरुको अनलाइन ‘म्यारिज ब्यूरो’

Getting your Trinity Audio player ready...
|
अमेरिका । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (पशुपति तथा बुद्द मन्दिर) टेक्सासले नेपाली युवा युवतीको विवहा गराउन ‘वर वधु मिलन कार्यक्रम’ शुरु गर्ने भएको छ ।
डालसमा रहेको मन्दिरले अमेरिका र क्यानडा नेपाली भाषीलाई लक्षित गरेर कार्यक्रम ल्याएको जनाएको छ । कार्यक्रमका संयोजक डाक्टर मुरली अधिकारीद्वारा जारी विज्ञप्तिमा ‘विवाह योग्य उमेर पुगेका नेपाली समुदायका व्यक्तिहरूलाइ जोड्ने र एउटै संस्कार, संस्कृतिभित्र विवाह गराउने उदेश्यले कार्यक्रम ल्याइएको’ जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ,’यसको लक्ष्य केटा पक्षलाइ सम्पर्क माध्यमका रूपमा जोड्ने मात्र हो । एउटै परिवेश, एकै संस्कार र संस्कृतीबाट आएकाहरुबीच वैवाहिक सम्बन्ध कायम हुन सकेमा भविष्यमा दाम्पत्य सम्बन्ध सुमधुर र दीगो हुन्छ ।’
अमेरिका र क्यानडामा बस्ने वैवाहिक जीवनको सुरुवात गर्नका लागि योग्य वर या वधुको खोजी गरिरहेकाले आफ्नो विवरण मन्दिरको वेवसाइडमा उपलब्ध गराउनु पर्ने छ । https://www.ourncsc.org/bar-badhu-milan-nepali-matrimony/application-form
अनलाइनमा भरिएको विवरण गोप्य रहने दावी विज्ञप्तिमा गरिएको छ । वर वा वधु चाहनेको नाम, थर वेवसाइटमा प्रकाशित गरिनै छैन । विवहाका लागि इच्छुकको वर्ग, उमेर, गोत्र, शैक्षिक योग्यता, रोजगारीको अवस्था, हाल बसोबास गरिरहेको स्थान, वैवाहिक स्थिती र आफूले कस्तो वर वा वधू खोजिरहेको हो भन्ने कुरा मात्र प्रकाशित गरिने जनाइएकोछ ।
विवाहका लागि इच्छुक व्यक्तिको विवरण कार्यक्रमका संयोजक डा. मुरली अधिकारी र कार्यक्रमका सहजकर्ता एवं मन्दिरका गुरू आचार्य मेघराज निरौलामा मात्र सीमित रहने मन्दिरले जनाएको छ । कार्यक्रममा दर्ता हुन ९९ अमेरिकी डलर शुल्क तिर्नु पर्ने छ ।