शेष घलेको समितिले निर्वाचन गराउने सहमती भएको हैन : हेमराज शर्मा, महासचिव एनआरएनए
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रीय समन्वय समिति (आइसीसी)का महासचिव हेमराज शर्माले आइसिसिको ८१औ बैठकद्वारा गठन गरिएको उच्च स्तरिय समितिले निर्वाचन गराउने सहमति नभएको प्रष्ट पारेका छन् ।
महासचिव शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उच्चस्तरीय समितिले निर्वाचन र महाधिवेशन गराउने सहमती भएको हैन ।’
महासचिव शर्माले आइसीसीको निर्वाचनको सन्दर्भ र सर्तहरू धेरै लामो छलफल पछि तयार गरिएको र अध्यक्षको आग्रहमा जस्ताको तस्तै पारित गरिएको पनि प्रस्टाएका छन् ।
शर्माले भनेका छन्,’ सन्दर्भ र सर्तहरु दर्जनौ पटक संशोधन गरिएको थियो, अन्तमा सबैलाई मान्य हुने निम्न ४ बुदाँमा संभावित उम्मेदवारहरुले सहमत जनाएका थिए ।’
विधानमा व्यवस्था भए अनुसार अहिलेको कार्यसमितिले नै महाधिवेशन गर्ने र अहिले गठन भएको निर्वाचन समितिले निर्वाचन गर्ने पनि महासचिवले उल्लेख गरेका छन् । ‘उच्च स्तरीय समितिको कार्य क्षेत्र ४ बुँदामा मात्र सिमित छ । सहमतीमा हस्ताक्षर गरे पछि फेरी पछि फर्केर मैले भने जस्तै हुनु पर्छ भन्नु उचित होईन । सहमती भाड्न होईन कार्यान्वयन तिर लागौ।’ शर्माले भनेका छन् ।
शर्माले सहमतिलाई चार बुद्दामा व्याख्या गरेका छन् ।
१. संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरुको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने ।
२. २८ फेब्रुअरी २०२२ सम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली संघको विधान र नियमावली अन्तर्गत रहेर २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने ।
३. समितिले आवश्यक ठानेमा माथि उल्लेखित कामहरु सफलतापूर्वक गर्नको लागि कानूनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु गठन गर्न सक्ने छ।
४. संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउने छन् ।
















