एनआरएनए विवाद मिलाउने जिम्मा शेष घलेको टिमलाई, निर्वाचन फेब्रुअरी २८ मा

Getting your Trinity Audio player ready...
|
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवादका कारण अवरुद्द निर्वाचन प्रक्रिया अब शुरु हुने संकेत देखिएको छ ।
संस्थापन र सस्थापन इतर दुबै पक्ष शनिवार साँझ सहमतिमा पुगेका छन् । कुमार पन्तको अध्यक्षतामा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
समितिमा संस्थाका सबै पूर्व अध्यक्षहरु सदस्य रहेका छन् । एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीद्वाराजारी विज्ञप्तिमा भनिएको छ,’गैरआवासीय नेपाली संघको आगामी नेतृत्व चयनका लागि निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन र महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न संघका प्रमुख संरक्षक शेष घलेज्यूको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।’
समितिका सदस्यहरुमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार रहेका छन् । क्षेत्रीद्वारा जारी विज्ञप्ति अनुसार उच्चस्तरीय समितिले संघको विधान अनुरुप २६ जनवरी २०२२ सम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरि संघका अध्यक्ष कुमार पन्तमार्फत निर्वाचन समिति समक्ष पेश गर्नेछ ।
यस्तै बैठकले फेब्रुअरी २८, २०२२ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचन गर्ने निर्णय समेत गरेको छ । बैठकले आगामी १० औं महाधिवेशनमा पेश हुने महासचिव डा. हेम राज शर्माको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।
यसै बीच एनआरएनए विवादमा संस्थापन इतर समुहको नेतृत्व गर्दै आएका सल्लाहाकार कुल आचार्यले बैठकको निर्णयको स्वागत गरेका छन् । समाज टाइम्स सँगको कुराकानीमा आसन्न निर्वाचनमा अध्यक्षको उमेदवार समेत रहेका आचार्यले आफुहरुको प्रस्ताव अनुसार नै निर्णय भएको बताए ।