हिमालयन बैङ्क र इन्भेस्टमेन्ट बैङ्कबिचको मर्जर प्रस्ताव अस्वीकृत

काठमाडौँ / हिमालयन बैङ्क र इन्भेस्टमेन्ट बैङ्कबिचको मर्जर प्रस्ताव अस्वीकृत भएको छ । हिमालयन बैङ्कको शुक्रवार सम्पन्न २९औँ साधारण सभाले मर्जरसम्बन्धी विशेष प्रस्तावलाई अस्वीकृत गरेको हो ।
मर्जरसम्बन्धी विषयमा सेयर धनीबिच विवाद भएको बताइएको छ ।प्रस्तावमा सहमति कायम हुन नसकेपछि भएको मतदानमा सो प्रस्ताव अस्वीकृत भएको हो । प्रस्ताव पारित गर्न ७५ प्रतिशत सेयर धनीको स्वीकृति चाहिने भए पनि कर्मचारी सञ्चय कोष, एन ट्रेनिङ कम्पनी, छाया इन्टरनेसनल लगायतका कम्पनीले मर्जर प्रस्तावमा असहमति जनाएका थिए ।मर्जर प्रस्तावको विपक्षमा ४२ प्रतिशत मत आएको बताइएको छ ।
हिमालयन बैङ्कमा सञ्चय कोषको १४.८७, एन ट्रेनिङ कम्पनीको १२.७७ र छाया इन्टरनेसनलको ८.९४ प्रतिशत सेयर लगानी रहेको छ । यी तीन कम्पनीको कुल सेयर लगानी ३६.५८ प्रतिशत भएसँगै मर्जर प्रस्ताव स्वीकृत गर्न आवश्यक ७५ प्रतिशत मत प्राप्त हुन नसकेको हो ।