एनआरएनएको विषयमा विदेशमा बस्ने नेपाली कांग्रेस समर्थकबीच आपसमा घोचपेच

Getting your Trinity Audio player ready...
|
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए)को विवाद पेचिलो बन्दै जाँदा विदेशमा बस्ने नेपाली कांग्रेस समर्थकहरु एक आपसमा तल्लो स्तरमै उत्रिएर घोचपेच गर्न थालेका छन् ।
साताको शुरुमा जनसम्पर्क समिति बेल्जियमका पूर्व अध्यक्ष समेत रहेका गंगाधर गौतमले एनआरएनए विवाद समाधानमा सहमति भएको भन्दै विभिन्न व्यक्तिको हस्ताक्षर सहितको पत्र सार्वजनिक गरे ।

एनआरएनएको आसन्न निर्वाचनमा सचिव पदका उमेदवार समेत रहेका गौतमले सार्वजनिक गरेको पत्रले एनआरएनए जगतमा केही क्षण हलचल नै ल्यायो । तर संस्थापन इतर रहेका र नेपाली कांग्रेसको समर्थन पाएका कुल आचार्यले त्यो समहतिलाई एकपक्षिय भनिदिए ।
अचम्मको कुरा सो पत्रमा कुल आचार्य टिमकै भनिएका अमेरिका निवासी नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि डाक्टर यादव पण्डितको हस्ताक्षर थियो ।
कुल आचार्य टिमकै सचिव पदका अर्का उमेदवार नारायण आचार्यले आफ्नो टिमबाट कसैले पनि सहमति पत्रमा हस्ताक्षर नगरेको भन्दै स्टाटस लेखे । तत्कालिन समयमा नेपाल विद्यार्थी संघको तर्फबाट शंकरदेव क्याम्पस स्ववियु सभापति समेत रहेका र हाल एनआरएनए यूरोप क्षेत्रका संयोजक आचार्यले स्टाटसमा लेखेको ‘विचौलिया’ शब्दले अर्को हलचल ल्यायो ।
कतिपयले आचार्यले यादव पण्डितलाई विचौलिया भने भनेर पनि हेडलाइन बनाए । हस्ताक्षरबारे दुई दिन सम्म मौन बसेका पण्डितले तेस्रो दिन मुख खोले र भने ‘सहमति पत्रमा मैले हस्ताक्षर गरेको छैन ।’ आफ्नै टिमबाट धोकेवाज, बिचौलियाको आरोप सायद पण्डितका लागि भारी बन्दै गयो ।
पण्डितको स्टाटस आउन नपाउदै गंगाधर फेरि दृश्यमा आए । उनले यादव पण्डितको स्टाटसको खण्डन मात्र गरेका छैनन् पण्डितले भनेका कुराहरु अडियो रेकर्डनै रहेको र त्यो सार्वजनिक गर्ने चेतावानी दिएका छन् । गौतमको चेतावनी पछि पण्डितले फेरि मौनता साधेका छन् ।
सोही मौनताको फाइदा पण्डितका नियमित कट्टर आलोचक जनसम्पर्क समिति अमेरिकाका उपसभापति सीपी पौडेलले लिन खोजेका छन् । उनले हस्ताक्षर चोरी भएकोबारेमा छानविन गर्न भन्दै व्यङ्ग गरेका छन् ।