इन्धनको मूल्यवृद्धिले कजाकस्तानमा निम्त्यायो विदेशी सेना

मस्को । रुसी नेतृत्वको एउटा सैन्य फौज कजाकस्तान प्रवेश गरेको छ । कजाकस्तानका राष्ट्रपति कासिम जोमाट टोकायभको अनुरोधमा रुसी फौज त्यहाँ पुगेको हो ।
इन्धनको मूल्यवृद्धिलाई लिएर सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला टोकायभले रुसको सेनालाई गुहारेका थिए ।
प्रदर्शनकारी र सुरक्षकर्मीबीचको झडपमा कजाकस्तानमा दर्जनौं प्रदर्शनकारी मारिएका विवरण सार्वजनिक भएका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा केही सुरक्षाकर्मी पनि हताहतीमा परेका छन् ।
बुधबार एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति टोकाएभले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सीएसटीओ ) लाई प्रदर्शन नियन्त्रण गर्नका लागि सहयोगको अपिल गरेका थिए ।
सीएसटीओअन्तर्गत ताजिकिस्तान, बेलारुस, रुस, कजाकस्तान, र आर्मिनिया का सेना आबद्ध छन् ।
यसै बीच कजाकस्तानमा सरकारविरोधी प्रदशर्नकारीलाई गोली ठोक्न आदेश दिइएको छ । आफ्ना हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली ठोक्न गृह मन्त्रालयले आदेश दिएको हो । इन्धनको मूल्य वृद्धिलाई लिएर कजाकस्तानमा केही दिन यता हिंसात्मक प्रदर्शन भएका छन् ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा दर्जनौ प्रदर्शनकारी मारिएका छन् । शुक्रबारसम्म दुई हजार ३०० प्रदर्शनकारी पक्राउ परेका छन् । झडपमा कम्तिमा १८ सुरक्षाकर्मी मारिएका छन् भने ७४८ जना घाईते भएका छन् ।